चार महिनामा ३१५३ ले लिए विदेश जाने श्रम स्वीकृति

विदेशबाट फर्किएकाहरु भन्छन् ‘फेरि विदेश नगई सुखै छैन’



काभ्रे। 

काभ्रेपलान्चोक जिल्लाबाट आर्थिक वर्षको चार महिनामा ३ हजार १ सय ५३ जनाले वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारमा जाने ब्यक्तिहरुले सिक्नु पर्ने भाषा, सिप तथा अन्य कानूनी विषयका बारेमा सचेतना गराउँदै आएको सामी कार्यक्रमले आयोजना गरेको अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले वैदेशिक रोजगारमा जाने ब्यक्तिहरु हरेक दिन बढिरहेको बताए ।

‘पछिल्लो चार महिनामा वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि ५ हजार ३ सय ३३ जनाले परामर्श लिएका छन्’–प्रमुख कार्यकारी अधिकृत कुँवरले भने–‘३ हजार १ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् भने ६ हजार ६ सय ६४ जनाले राहदानी बनाएका छन् ।’ आप्रवासी श्रोत केन्द्र मार्फत विभिन्न मुलुकमा जाने चाहने ब्यक्तिहरुले अपनाउनु पर्ने कानूनी विषय, भाषा तथा सिपका बारेमा सचेत गराउँदै आएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारमा गएर फर्किएका स्थानीयहरुले पुनः विदेश जान बाध्य भएको बताए ।

‘वैदेशिक रोजगारमा तेस्रो पटक गएर फर्किएँ । फेरि  पनि जाने प्रयासमा छु  । भिसा नलागेर बसिरहेको अवस्था छ । मलेसिया, कतार, मालदिभ्स गएर फर्कँदा पनि नेपालमा काम गर्ने अवस्था बनेन’– स्थानीय नवीन खड्गीले भने– ‘उद्योग खोलौँ भन्दा चारवटा निकायमा जानु पर्छ । कर मात्रै तिर्नु पर्छ सुविधा के पाउँछौँ ? स्थानीय सरकारले दिएका तालिम र सहयोगले उपलब्धि के भयो ?’ तीन तहकै सरकारको सहयोग नभएकै कारण युवा जति बिदेसिन बाध्य भएको उनले बताए । वैदेशिक रोजगारमा गएर फर्किएकी संगिता परियारले नेपालमा काम गर्ने वातावरण नै नभएको बताइन् । ‘हामीले सिकेको सिप कहाँ प्रयोग गरौं ? अवसर नै छैन’–संगिताले भनिन–‘अवसरका लागि आफ्नै व्यक्ति हुनु पर्छ । नेपालमा धेरै अवसर खोजेँ । सम्भव भएन । अब फेरी विदेश जानुको विकल्प छैन ।’

त्यस्तै सविता बर्देवाको अनुभव पनि उस्तै छ । विदेशबाट फर्किएको एक वर्षमा पनि केही काम नपाएको उनले बताइन् । तालिम र अवसर आफ्नालाई मात्रै उपलब्ध गराउँदा हरेक युवामा निराशा मात्रै आएको उनको अनुभव छ । सरकारले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनु पर्नेमा उनको जोड थियो ।
अधिकांश युवाहरुले पटक पटक विदेशिनु पर्दाको पिडा सुनाए । नेपालमा बस्दा बेरोजगार हुनुको पीडा र बिदेसिँदा परदेशी हुनुको पीडा भोग्नेले मात्रै अनुभव गरेको बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले परिषद् मार्फत युवाहरुलाई तालिम, अवसर र उद्यमशीलता बनाउने अवसर प्रदान गरेको बताउँदै पर्याप्त हुन नसकेको बताए । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर बाईँवाले चाहेर पनि युवाहरुलाई स्थानीय स्तरमा रोक्न नसकेको बताए ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर बाईँवाले युवाहरुको सिप र क्षमतालाई नेपालमा रोक्न प्रयास गरे पनि सम्भव नभएको बताए । कार्यक्रममा वडा अध्यक्ष गणेश आचार्य, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर, धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम, वैदेशिक रोजगारबाट फर्किएकाहरुको संजाल बागमती प्रदेश अध्यक्ष चिनीमाया लामा, जिल्ला अध्यक्ष निरप्रसाद ढकाल, धुलिखेल अध्यक्ष विजय गौतम लगायतले वैदेशिक रोजगारको अवस्था र समस्याका बारेमा धारणा राखेका थिए ।

नेपालमा कुल जनसंख्याको १० प्रतिशत नागरिकहरु वैदेशिक रोजगारमा गएका छन् । विश्वमा २८ करोड ५९ लाख ९८ हजार १ सय ५ जना नागरिकहरु आप्रवासी श्रमिकका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्