पार्टीको विधान र व्यवस्था बदल्न आवश्यक : महामन्त्री थापा



रामपुर (पाल्पा)  ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।

आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उहाँले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो । “पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन”, उहाँले भन्नुभयो ।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापा बताउनुहुन्छ । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उहाँले बताउनुभयो ।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उहाँको भनाइ छ । तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्