मलेसिया प्रकरणमा अर्याललाई चार दिन म्याद

दुई पूर्वश्रममन्त्रीसहित ११ जना हिरासतमा


काठमाडौं ।

मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल गरी रकम विदेश पठाएको भनिएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई जिल्ला अदालत काठमाडौंले शुक्रबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएका अर्याललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार अदालतमा उपस्थित गराएको थियो । उहाँमाथि मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप लगाइएको छ ।
सीआईबीका अनुसार सन् २०१९ देखि २०२४ सम्म मलेसिया जाने श्रमिकबाट बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क उठाइएको र विभिन्न चरणमा रकम मलेसिया पठाइएको थियो ।

अनुसन्धानमा करिब एक अर्ब ६९ करोड रुपैयाँ गैरकानुनी रूपमा विदेश पठाइएको आशंका गरिएको छ । रकम संकलन, स्थानान्तरण र त्यसलाई सहज बनाउने सरकारी निर्णय प्रक्रियामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा यसअघि नै पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित १० जना पक्राउ परिसकेका छन् । अर्याल पक्राउ परेपछि हिरासतमा रहेका व्यक्तिको संख्या ११ पुगेको छ । पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । मलेसिया प्रकरणलाई लिएर सत्ता र विपक्षी वृत्तमा फरक बुझाइ देखिएको छ ।

सत्तापक्षको तर्कमा अनुसन्धानलाई कानुनी प्रक्रियाअनुसार अघि बढाएर दोषी देखिएकालाई कारबाही गर्नुपर्ने विषय प्रमुख छ । विपक्षी तथा आलोचकहरूले भने अनुसन्धान निष्पक्ष, पारदर्शी र चयनमुखी नहुने गरी सबै निर्णयकर्ता तथा सम्बन्धित अधिकारीको भूमिका छानबिन गर्नुपर्ने प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।