आन्दोलनकारीले थन्को लगाए प्रहरी स्कर्टिङको सवारी साधन



खोटाङ ।

खोटाङमा यातायात बन्दका क्रममा प्रहरी स्कर्टिङमा सञ्चालन गरिएका यातायातका साधन पहिचानबादी आन्दोलनकारीले शनिबार दिनभरका लागि थन्को लगाएका छन् । कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका जिल्लाका पहिचान पक्षधर समुहले स्कर्टिङमा चलाईएको साना तथा ठूला सवारी साधनलाई दिक्तेलबजारस्थित किरात चौक आसपासमा दिनभरका लागि रोकेका हुन ।

शनिबार र आईतबारका लागि पुर्व निर्धरित र बिज्ञप्तिमार्फत प्रशासनसमक्ष समेत सूचित गर्दै गरिएको बन्द कार्यक्रममा दादागिरी शैलिमा चलाईएको सवारी साधनलाई थन्को लगाइएको आन्दोलनकारीले जनाएका छन् । जवरजस्ती गर्दै बन्द अवाज्ञा गरे त्यसबाट हुने क्षतिको जिम्मेवार आन्दोलनकारी नबन्ने पहिचान पक्षधर समुहका उपार्जुन राईको भनाई छ । रोकिएका सवारी साधनहरु साँझसम्म सकुशल फिर्ता दिने राईले उल्लेख गर्नुभएको छ ।

पहिचान पक्षधरहरुले आव्हान गरेको यातायात बन्दका कारण जिल्लामा सार्वजानिक तथा नीजि सवारी साधन शनिबार बिहानैदेखि ठप्प बनेको हो । पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङले नेकपा एमालेको ‘समृद्दिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै गत २६ गतेदेखि नै उदयपुरको घुर्मीदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको थियो । आन्दोलनकारीले एक नम्बर प्रदेशको नाम कोशी प्रदेश अस्विकार गर्दै पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरिरहेका छन् । आन्दोलनकारी समुहहरु दिक्तेलबजारको प्रबेशद्वारमा पर्ने किरातचौक लगायत बिभिन्न स्थानमा जम्मा भएका छन् ।

यता, एक नम्बर प्रदेश पुनः नामाङकन संयुक्त संघर्ष समितिले नै पनि शनिबार र आईतबार दुई दिन उक्त प्रदेशभरि यातायात बन्द घोषणा गरेको छ । घुर्मी–लेगुवाघाट अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्कँदा २६ गते पक्राउ गरि प्रहरी हिरासतमा राखिएका पुर्वमन्त्री किराती लगायतलाई रिहाई नगरेपछि यातायात बन्द आव्हान गरिएको संयुक्त संघर्ष समितिले उल्लेख गरेको छ ।

प्रहरीले मन्त्री किरातीसहित जसपा नेता एवं हलेसी तुवाचुङ युवा सहसंयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सहसंयोजक विजय राईलाई खोटाङको हलेसीबाट र नुन्थलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई पक्राउ गरेको थियो । जिल्लाबाट पक्राउ परेका मन्त्री किरातीसहितलाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थपी हिरासतमा राखेको छ ।

पक्राउ परेका नेताहरुलाई शुक्रबार राती १२ बजेसम्म बिना शर्त रिहा गर्न भन्दै शुक्रबार संघर्ष समिति खोटाङका संयोजक युगसन किरातसहितका पहिचानवादीले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
यस्तै, संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरु अझै छुटेका छैनन् । संघर्ष समिति झापा संयोजक चौधरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापामा कालो झण्डा देखाएको आरोपमा बिर्तामोडबाट पक्राउ परेका थिए ।

शनिबार बिहानै भोजपुरबाट आएका केही गाडीलाई स्कटीङमा गन्तब्यतर्फ पठाईएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । उहाँले प्रहरीलाई खबर गरेमा स्कटीङ गरेर गन्तब्यमा पठाईने भन्दै काठमाण्डौ तथा तराई जाने भएमा आफू खुशी यातायात नचलाउन आग्रह गर्नुभएको छ । संघर्ष समितिले कोशी नामकणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विरोधका कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्