उजाड गाउँलाई रहर र आशा लाग्दो बनाउँछु : केपी ओली



तेह्रथुम।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको बताएका छन् ।
विकास र सेवासुबिधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले वढ्दो बसाइसराई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ औँ दिन आफ्नो जन्मघर तेह्रथुममा पुगेका  अध्यक्ष ओलीले आफ्ना बालसखासँग कुराकानी गर्दै गाउँको विकास र समृद्धि सृजना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताए ।

उनले भने, ‘स्थिर सरकार नबन्दा, गाउँको विकास हुन सकेन, जनताले दुःख पाए, वेरोजगारको संख्या बढ्यो, तसर्थ विकास र समृद्धिका लागि यो मुलुकमा एमालेको एकल वहुमतको सरकार आवश्यक रहेकाले मिसन ८४ सुरु गरेका हौ ।‘यति सुन्दर गाउँ आज उजाड बन्यो, मान्छे बस्ने हैन आउनेसमेत वातावरण बनेन्, उनले भने, ‘यी सबै काम छोटो समयमा एमालेको नेतृत्वको सरकारले सुरु गरेको थियो, तर त्यसबाट अत्तालिएर पार्टी भित्र र वाहिरका अन्य शक्ति लागेर अदालतको आदेशमा ढाले ।’

बालसखासँगको छोटो भेटघाटमा उनीहरुले मन फुकाएर कुरा गरेका थिए । उनीहरू मध्ये आफूले गाउँमा व्यवसायिक कृषि सुरु गरेको तर बजार अभाव भएकाले उत्पादित बस्तु खेर गएको गुनासो सुनाए । ओली गाउँमा पुग्दा एक बालसाखले भिडियो कल गरे  र गाउँमा बस्ने वातावरण नभएका गुनासो गरे । ‘त्यहाँ सुनसान छ, कोही छैन अप्ठेरो छ’, उनले गुनासो गरे ।

केपी ओलीको पहलमा गाउँमा बाटो पुगेको तथा प्राविधिक शिक्षालय बनेकोमा भने उनले खुसी व्यक्त गरे । आफू जन्मिएको ठाउँ बनाएको भन्दै उनले ओलीको प्रशंसा गरे । ओलीले आफ्नो घर जग्गा र छिमेकीको समेत किनेर प्राविधिक शिक्षालयलाई दान दिएका छन्, जहाँ प्राविधिक विषयका विद्यार्थी पढिरहेका छन् ।

गाउँ सुनसान भएको भन्दै फोन गर्ने साथीलाई ओलीले गाउँमा मानिस आउने र कृषि कर्मको वातावरण बनाउने योजना आफूले बनाइरहेको बताए । ‘म योजना गर्दै छु, मान्छे आउने खालको योजना, कसरी कृषि गर्ने, यो खालको कृषिको योजना गर्दै छु’, ओलीले उनलाई आश्वस्त पारे ।

उनले भिडियो कल गर्दा गर्दै अर्का बालसखाले ६ सय एभोकार्डो र ११ सय बोट कागती लगाएको ओलीलाई सुनाए । ओलीले उनलाई तपाईहरुको कृषि क्रान्ति मन पर्यो यसलाई अझ व्यवसायिक हिसावले अघि बढाउनुस साथमा एमाले छ भन्दै आश्वस्त पारे ।

प्रतिक्रिया दिनुहोस्