पल शाहविरुद्धको मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने



काठमाडौँ।

नाबालिक बलात्कारको आभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले दोहोर्‍याएर हेर्न आदेश जारी गरेको हो।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले ४ फागुन २०७९ मा सुनाएको फैसलामा प्रमाणहरुको समुचित मूल्याङ्कन नगरिएको सर्वोच्चले ठहर गरेको छ।

‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९/११/४ को फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतले भनेको छ।

अभिनेता शाहविरुद्ध नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा छुट्टा–छुट्टै मुद्दा दर्ता भएका थिए। दुवै जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएका थिए। नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

बाल यौन दुरूपयोगमा दोषी ठहर गर्ने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावलोकन निवेदन दिएका थिए। यस्तै, बलात्कार मुद्दामा सफाइ दिन दुवै जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले पनि उच्च अदालतमा निवेदन दिएको थियो।

पल शाह र सरकारी पक्षले दायर गरेको पुनरावलोकन निवेदन एकसाथ राखेर सुनुवाइ गरेको उच्च अदालतले पीडित भनिएकी नाबालिग गायिकाको अदालती बयान (बकपत्र)लाई आधार मानेर बलात्कार मुद्दामा सफाइ दिएको थियो।

शाहले सुटिङका क्रममा आफूलाई होटेलको कोठामा बलात्कार गरेको भन्दै नाबालिग गायिकाले ११ फागुन २०७८ मा तनुहँ प्रहरीमा जाहेरी दिएकी थिइन्। यस्तै, उनै नाबालिगक गायिकाले नवलपुरको गैँडाकोटमा पनि शाहले आफूमाथि बलात्कार गरेको भन्दै १५ फागुन २०७८ मा नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्।

तर अदालतमा बकपत्र गराउँदा भने पीडित नाबालिग गायिकाले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्