शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपर्‍यो : कानुनमन्त्री गुरुङ



काठमाडौँ। 

 कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले नेपाललाई एजुकेसनल हब बनाउन सके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे ।

मन्त्री गुरुङले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताए । उनले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरुसँग छलफल गरी संसदीय समितिमा रहेको बताए। उनले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्याब्सनको एकमात्रै ध्येय नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको बताए । उनले सवा लाख विद्यार्थी विदेश जाने नभई सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय प्याब्सनको रहेको बताए ।

अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैँ गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्