डा गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने



काठमाडौं ।

डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन्। २ बुँदे माग राखेर उनले सत्याग्रह सुरू गर्ने भएका हुन्। केसीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई प्रमुख मागका रुपमा अगाडि सारेका छन्।

केसीले विज्ञप्ति गर्दै सार्वजनिक गरेका २ बुँदे मागको पहिलो बुँदामा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताइएको छ।

केसीको मागको पहिलो बुँदामा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याइयोस्।’

डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित रहेर यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई दोस्रो मागका रुपमा अगाडि सारेका छन्।

सरकारसँग पटक-पटक भएका सहमति कार्यान्वयन नभएको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका हुन्।

डा. केसीले सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअघि भएको सम्झौता अनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्ने सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि राखेका छन्।

प्रतिक्रिया दिनुहोस्