राजधानीमा सुर्तीजन्य पदार्थ प्रतिबन्ध, एकै दिनमा करिब ५ बोरा समातियो



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रि वितरणमा प्रतिबन्ध लगाएसँगै पसलहरू अनुगमन शुरु गरेको छ। कामपा नगर प्रहरी बलले बिहीबार बिहानैदेखि राजधानीको सबै क्षेत्रमा अनुगमन तिब्र बनाएको छ।

त्यसै क्रममा राजधानीको बिभिन्न स्थानबाट करिब ५ बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ। अनुगमनको क्रममा केही पान र किराना पसल सञ्चालकले लुकाएर सुर्तीजन्य पदार्थ बिक्रि गरेका र केहीले लुकाएका भेटिएको छ।

कामपा प्रहरी निमित्त प्रमुख प्रहरी उपरीक्षक विष्णुराज जोशीले नेपाल समाचारपत्रसँगको कुराकानीमा राजधानीको कोटेश्वर, बानेश्वर, गौशाला, चावहिल, मित्रनगर वालाजु, अनामनगर, भोटाहिटी, महाराजगंजलगायत क्षेत्रबाट करिब ५ बोरा सुर्तीजन्य पदार्थ बरामद भएको बताउनुभयो। उहाँले बरामद गरेका सबै समाग्री वागदरबार र टेकुमा राखिएको र यी समाग्रीहरू के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो।

नगर प्रहरीले सुर्तीजन्य पदार्थ लुकाएर बिक्रि गरे पसल शिल गर्ने चेतावनी दिंदै नगरप्रहरी प्रमुख प्रहरी उपरीक्षक जोशीले भन्नुभयो– ‘अनुगमनको क्रममा पहिलो पटक बिक्रि गरे जफत गर्ने, दोस्रो पटक सामान जफत गरेर चेतावनी दिने र तेस्रो पटक पनि बिक्री गरेको जानकारी पाए पसलमा शिलबन्दी गर्नेर्छौ।’

नगरप्रहरीको टोली बिहानैबाट पुर्वी, मध्य, पश्चिम र उत्तर क्षेत्रमा परिचालित थिए। नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सबै क्षेत्रमा गरी क्षेत्रमा ५० जना नगरप्रहरी परिचालन भएको जानकारी दिनुभयो।

प्रत्येक टोलीमा १०–१० जना नगरप्रहरी परिचालित छन् । पुर्वी क्षेत्रमा प्रहरी उपरीक्षक दिनेश अर्याल, मध्यमा प्रहरी उपरीक्षक मनोज लामिछाने, पश्चिममा प्रहरी निरीक्षक प्रकाश पंडित र उत्तरमा प्रहरी नायब उपरीक्षक पुर्णचन्द्र भट्टको टोली परिचालित छन्।

त्यसबाहेक प्रहरी निरीक्षक ईश्वर वाग्लेको कमाण्डमा नगर प्रहरी मुख्यालयमा केन्द्रीय सहायता कार्यदल रहनेछ । कामपाले सुर्तीमात्र नभै खुद्रा चुरोट बिक्रि गर्न रोक लगाएको छ।

यसैबीच कामपाले आजबाट राजधानीमा सञ्चालन भएका सबै रेस्टुराँलाई अनिवार्य रूपमा धुम्रपान सेवन कक्ष राख्नुपर्ने नयाँ नियम ल्याएको छ। कामपाका प्रहरीले राजधानीमा सञ्चालित सबै रेस्टुरेन्ट अनुमगन गरी सेवन कक्ष भए नभएको निक्र्योल गर्नेछ।

कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले राजधानीमा सञ्चालित सबै रेस्टुरेन्ट व्यवसायीले आफ्नो रेस्टुराँमा अनिवार्य रूपमा धुम्रपान सेवनकक्ष राख्नुपर्ने स्पष्ट पार्दै भन्नुभयो– ‘आजबाट यो नियम लागु गराएका छौं, नगरप्रहरीले अनुगमन गरी सेवनकक्ष नराखेकालाई कारबाही गर्नेछ।’ उहाँले धुम्रपान सेवन कक्ष स्थापना गर्न केही समय दिने तयारी भएको जानकारी पनि दिनुभयो।

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐनको परिच्छेद–२ को दफा–३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारी साधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुराँ, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ । ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्नसक्ने व्यवस्था छ।

ऐनको अनुच्छेद–५ को उपदफा–१७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गरे तुरुन्त रोक लगाउन सक्ने, पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ।

ऐनको दफा–५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ। यसअघि सरकारले ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्