देशको अर्थतन्त्रमा रातारात सुधार सम्भव छैन : अर्थमन्त्री महत



काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा रातारात सुधार सम्भव नरहेको बताएका छन्। मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेदेखि देशको आर्थिक अवस्था ठीक हुँदै गएको उनको दाबी छ। आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नभएकोमा अहिले त्यसमा व्यापक सुधार आएको उनको भनाइ छ।

‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ। जग्गा कारोबार पनि बढ्दै छ।’

बजेटमार्फत् घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमश: कार्यान्वयनका क्रममा रहेका बताउँदै उनले सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरू सहमत भएकाले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको पनि अर्थमन्त्री महतको भनाइ छ। उनले राजस्व परिचानलमा पनि क्रमश: सुधार भएको दाबी गरे।

बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ करका आधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम दिन थालेको पनि अर्थमन्त्री महतले बताए। उनले कर प्रणालीमा सुधारका लागि उच्च स्तरीय समिति गठन भई समितिले काम गरिरहेको बताए।

त्यसैगरी, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको र हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्त्वपूर्ण परिवर्तन भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्