नेता गोपाल किराती लगायत चार पहिचान पक्षधर आन्दोलनकारी प्रहरी नियन्त्रणमा



खोटाङ ।

खोटाङबाट देशभक्त समाजबादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समितिका केन्द्रीय नेता गोपाल किराती लगायत चार जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराउन उत्रिएका नेता राई लगायत राजेश राई, गन्धमान राई र बिजय राईलाई हलेसीबाट नियन्त्रणमा लिएका हुन ।

पहिचान पक्षधर समुहले आज मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका थिए । नियन्त्रणमा परेका सबैलाई तत्काल रिहाइ गर्न पहिचानबादी युवा परिचालन समितिका संयोजक निर्मल राईको माग रहेको छ । तत्काल रिहाई नगरे परिणाम राम्रो नहुने राईले उल्लेख गर्नुभएको छ ।

समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो । बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

प्रदेशको नामांकनको विषयमा विमती राख्दै आन्दोलनरत पहिचानपक्षधर समुहले सोमबार अर्थात गए राती खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए ।

तर सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । आज बिहान आन्दोलानकारीले नियन्त्रणमा लिएर सडकमा तेर्स्याएर राखेका केही ट्रकलाई समेत प्रहरीले हटाएका छन । चलेका गाडीलाई प्रहरीले स्कट गरिरहेको जनाईएको छ ।

पहिचान पक्षधर समुहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान बिरुद्ध अभिव्यक्ती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्