खोटाङ ।
पहिचान पक्षधर समूहले आव्हान गरेको बन्दका कारण खोटाङमा यातायात सेवा ठप्प भएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप पहिचान पक्षधर समूहले आज मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका छन् ।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी गरेको छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो ।
बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।
प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचानपक्षधर समूहले सोमबार अर्थात गए राती खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए । तर सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । चलेका गाडीलाई स्कट गरिरहेको उनले जनाए।
पहिचान पक्षधर समूहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानबिरुद्ध अभिव्यक्ती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विरोधका कार्यक्रम गरिरहेको छ । यसैबीच, खोटाङको हलेशी र जयराम पुलमा आन्दोलनकारीहरुले गाडी नियन्त्रणमा लिएको छ।











प्रतिक्रिया