हरिवंश आचार्य वल्र्डस् ह्याप्पिएस्ट म्यान



बुलबुल नामक फिल्मबाट निर्देशन गरेर सरकारले प्रदान गर्ने राष्ट्रिय फिल्म पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता बनेका विनोद पौडेलले नयाँ फिल्मको पोस्टर र नाम सार्वजनिक गरेका छन्।

नेपालीमा भुटान र अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान नामाकरण गरिएको फिल्मको मुख्य भूमिकामा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका साथमा दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, ऋचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र कौशिला खनाल कर्माचार्य अनुबन्धित भएका छन्। फिल्ममा हलिउडका एक चलेका कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको र हलिउडमा चलिरहेको फिल्मकर्मीको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने निर्मातामध्येका एक राजेन्द्र ठकुराठीले बताए।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको भुटान (द वल्र्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा छानिएको थियो।

विश्वका हरेक देशले आत्मसात् गर्ने कथा, राम्रो लेखन र यो फिल्ममार्फत् नेपाल अन्तर्राष्ट्रिय बजारमा जान सक्ने सुझाव आएपछि, विभिन्न देशका अन्तर्राष्ट्रिय समूह यसमा हातेमालो गर्न आएका हुन्। यो दक्षिण एसियाको कथा भएको र भू–राजनीति पनि जोडिएको हुनाले मुख्य भूभिकामा भारतका प्रसिद्ध कलाकारहरू राख्ने गरी उनीहरूसंगको छलफल भई सम्झौता पनि भएको थियो।

यसमा नसिरुद्दिन शाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्ध साउन्ड डिजाइनर विश्वदीप चटर्जी, एआर रहमान तथा चीन, अमेरिका र बेलायतबाट समेत कलाका जोडिने पक्का भएको छ। ‘अनुपम खेरले, यस्तो राम्रो स्क्रिप्ट धेरै वर्षमा पढ्न पाएको भन्दै मुख्य भूमिकामा कम पारिश्रमिकमा पनि आफू काम गर्न एकदम रुचि भएको जनाएपछि उनीलगायत केही कलाकारस“ग कानुनी रूपमै सम्झौता भयो र पहिलो किस्ता परिश्रमिक पनि दिइयो। अनुपम खेरले, द फिल्म इज लाइक अ क्लासिकल हलिउड भनेका थिए’ निर्देशक पौडेलले भने।

अनुपम खेरलगायत अन्य भारतीय कलाकारलाई फिल्मसम्म जोड्ने काम नेपाली नाट्य निर्देशक विमल सुवेदीले गरेका छन्। विमलले यो फिल्ममा निर्देशक पौडेललाई क्रियटिभ पाटोमा सहयोग गरिरहेका छन्। तर, जब विनोद, विमल र मुख्य पात्र अनुपम खेर स्क्रिप्ट रिडिङ सेसनमा बस्न थाले, विनोदलाई अनुपम खेरले चरित्र र कथावस्तुलाई लिएर अलि बढी क्रियटिभ हस्तक्षेप गरेको अनुभूति भयो। अनुपम खेर उनको चरित्र अलिकति बलिउडको चलन चल्तीको मान्यताअनुरूप आफ्नो चरित्रलाई लिएर नयाँ दृष्टिकोण दिन चाहन्थे। तर, निर्देशक विनोद भने यो फिल्म भारतीय फर्मुला फिल्म हेर्ने दर्शकको लागि मात्र नभएर विश्वबजारका लागि भएकोले बलिउड दर्शकको रुचिलाई मात्र ध्यान दिएर, कथाकोे आत्मा र उक्त चरित्रको गहिराईमा सम्झोता गर्नाले फिल्मको दर्शनको लय बिग्रने भएकाले सम्झौताको समयमा दिइएको पहिलो किस्ता वापतको रकम क्षतिपूर्तिस्वरूप अनुपम खेरबाट फिर्ता नलिने र पुनःभविष्यमा सहकार्य गर्ने आपसी समझदारीसहित उनीसँगको यात्रा टुंगिएको उनले खुलाए। अहिले मुख्य भूमिकामा हरिवंश आचार्यसहित नेपाल, अमेरिका र भारत सहितको समूह मिलेर फिल्मको पूर्व तयारीमा जुटेको छ।

निर्माता अविरल थापाले यो फिल्म विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय फिल्मको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए। फिल्ममा सन् २०१७ मा ओस्कार अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताकोे रूपमा जोडिएका छन्। फिल्मको सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने फिल्म्स नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ। फिल्मको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्नेछ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अञ्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ, बलिउडका प्रख्यात कला निर्देशक अञ्जन गजुरेलको कला निर्देशन रहनेछ भने किर्तना बाँस्कोटा , एलिस बोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन्। फिल्म अमेरिकाको म्याड मंकी फिल्म्स्ले निर्माण गर्नेछ। साथै, अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्