नेपाल यमनसँग पराजित हिसबले त्यो गोल गरेको भए…



काठमाडौं । 

नेपालको लागि त्यो तीन मिनेट गोल गर्ने अवसर थियो । तीनपटक मौका आए पनि नेपालले गोल गर्न सकेन र पाहुना टोली यमनसँग २–० ले पराजित भयो । योसँगै फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले दोस्रो हार बेहो¥यो ।

पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्समा ४–० ले पराजित भएको थियो । नेपालको दुई खेलमा अंक बनेको छैन भने यमनले तीन अंक जोडेको छ । यसअघि, यमन बहराइनसँग पराजित भएको टोली थियो । ६१औं मिनेटमा हिसुब थपलियाले वान भर्सेस वानमा गोल गर्न चुकेका थिए । दायाँ बक्सबाट बल लगेर उनले केही गर्न पनि नपर्ने, उनको तगारो भनेको यमनका गोलकिपर थिए । जसलाई उनले बिट गर्न सकेनन् । तर, उनले बल लगिरहँदा दशरथ रंगशालामा उपस्थित करिब १३ हजार दर्शक गोल भनेर कराउन थालिसकेका थिए । तर, उनले निरास गरे ।

यसपछि नेपालले डिबक्स भन्दा केही बाहिरबाट फ्रिकिक प्रहार गर्ने मौका पायो । यो हिसबलाई फाउल गरेपछि पाएको फ्रिकिक थियो । तर, एरिक विष्टले प्रहार गरेको बललाई ब्लक गरिएको थियो । यही क्रममा अञ्जन विष्टले क्लोज रेन्जबाट गरेको प्रहार पनि विपक्षी खेलाडीबाट ब्लक गरियो र कर्नर प्राप्त गरियो । त्यसमा पनि नेपालले फाइदा उठाउन सकेन ।

नेपालका कोच भिन्सेन्जो अल्बर्टो एनेसेले यो गोल भएको भए खेलको मोड नै अर्को हुने बताएका थिए । उनले खेलपछिको पत्रकार सम्मेलनमा बताए—हिसबले त्यो गोल गरेको भए खेलको मोड अर्कै हुने थियो । यसपछि फ्रिकिक भयो, कर्नर भयो त्यसमा पनि चुक्यौं । अञ्जनको लागि पनि मौका थियो गोल गर्न तर, हुन सकेन ।

यो अवसर खेर फालेपछि यमनको काउन्टर एट्याक खतरनाक बनेको थियो । ६५औं मिनेटमा अल खदेर अल डोउहले नेपालको पोस्टमा गोल गरेका थिए । तर, उनले बल हान्न अगाडि नै असिस्टेन्ट रेफ्रीले अफसाइडको झण्डा उठाइसकेका थिए । यसमा नेपाललाई राहत पनि मिलेको थियो ।

तर, ७२औं मिनेटमा भने नेपाली गोलकिपर किरण चेम्जोङको लागि बचाउने कुनै विकल्प नै बाँकी रहेन । ९ नं जर्सीका खेलाडी ओमार अल दहीले यमनलाई अग्रता दिलाएका थिए । उनले बक्स बाहिर बाट गरेको भली प्रहारले जाली चुमेको थियो । किरणले बचाउन प्रयास गरे पनि त्यो सशक्त प्रहार थियो, उनले सकेन । नेपाल भनेर गुञ्जिरहेको रंगशाला यो गोलले शान्त बन्यो ।

७६औं मिनेटमा अहमद महेर अग्रता दोब्बर गर्न बाट चुके । उनको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको केही टाढा बाट मात्र बाहिरियो । ८७औं मिनेटमा मोहम्मद अल ताइरीको प्रहार भने किरणले बचाउन सके । ९०औं मिनेटमा यमनले दोस्रो गोल गर्दै जित सुनिश्चित ग¥यो । मोहम्मद अब्दुल्लाह अल दाहीले किरण माथि बललाई चिप गर्दै गोल गरेका थिए ।

नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो । खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो । खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फाउल गर्न पुग्दा नेपालले अग्रता लिने अवसर सदुपयोग हुन सकेन ।

दिनेश हेन्जनले ११औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेड गर्न सकेनन् । २८औं मिनेटमा दिनेशको कर्नरमा कसैले हेड गर्न नसक्दा पनि गोल भएन । त्यसलगत्तै यमनको काउन्टर एट्याक नेपालले विफल पा¥यो । एक मिनेटपछि दिनेशकै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढाबाट बाहिरियो ।

४८औं मिनेटमा दिनेशको क्रसमा अञ्जन पुग्नुअघि यमन गोलरक्षक अल सदिले समाते । ५१औं मिनेटमा ओमार अल दहीको बक्स बाहिर बाट लिएको प्रहार किरणले बचाए । ५३औं मिनेटमा दिनेशको कर्नरमा उत्सव राईको फ्लिकले पोस्टको दिशा लिन सकेन । खेलको अन्त्यतिर नेपालले केही मौका सिर्जना गर्न खोजे पनि केही पनि भएन । यो खेलमा फरवार्ड राजेश परियारले डेब्यु गरेका थिए । उनले ७९औं मिनेटमा अञ्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । छनोटअन्तर्गत तेस्रो र चौथो खेलहरू मार्चमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्