लुकाकुले गरे पहिलो पटक चार गोल



लन्डन, (एजेन्सी)  । 

रोमेलु लुकाकु एक्लैले चार गोल गर्दा बेल्जियमले युरो २०२४ छनोटअन्तर्गत खेलमा १० खेलाडीमा सीमित अजरबैजानलाई ५–० ले हराएको छ । ३० वर्षीय लुकाकुको योसँगै १ सय १३ खेलबाट राष्ट्रिय टोलीका लागि ८३ गोलसंख्या भयो । पुरुषको अन्तर्राष्ट्रिय फुटबल इतिहासमा उनी सर्वाधिक गोल गर्ने सूचीमा सातौं स्थानमा छन् ।

लुकाकुले जेरेमी डोकुको क्रसमा गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले सबै चार गोल पहिलो हाफमा गरेका थिए । उनले १७ औं मिनेटमा पहिलो, २६ औं मिनेटमा दोस्रो र ३० औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका थिए । यसपछि ३७ औं मिनेटमा एक गोल उनले थपे । अन्तिममा ट्रोसार्डले एक गोल गरेका थिए ।

लुकाकुले अन्तर्राष्ट्रिय फुटबल खेलमा पहिलो पटक चार गोल गरेका हुन् । क्लब करियरमा उनले एभर्टनमा प्रिमियर लिग खेलमा चार गोल गरेका थिए । यो २०१७ फेबु्रवरीमा बर्नमाउथविरुद्ध ६–३ को जितमा उनले चार गोल गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सुचीमा पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले १ सय २८ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका इरानका अली डाइले १ सय ९ गरेका छन् । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी १ सय ६ गोलसँगै तेस्रो स्थानमा छन् ।

यसैगरी भारतका सुनील क्षेत्री चौथो स्थानमा रहेका छन् । क्षेत्रीले कूल ९३ गोल गरेका छन् । यस्तै मलेसियाका मोख्तार डाहारीले ८९ गोल गर्दै पाँचौ स्थानमा र हंगेरीका फेरेन्स पुस्कास ८४ गोलसहित छैटो स्थानमा छन् । सातौं स्थानमा लुकाकु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्