टिकटक बन्द नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी



काठमाडौँ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भए पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल बन्द गर्न चेतावनी दिएको हो।

प्राधिकरणले तत्काल सेवा प्रदायकले टिकटक बन्द नगराए दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिबानासमेत गर्न सक्ने व्यवस्था छ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सदभाव भड्किएको भन्दै तत्काल देशभर टिकटक बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो।

मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गराउन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरे पनि अहिलेसम्म टिकटक बन्द भएको छैन। टिकटक बन्द नभएपछि सामाजिक सञ्जालमा टिकटक कहिले बन्द हुन्छ सरकार भन्दै व्यंग्यसमेत हुन थालेको छ।

गृह मन्त्रालयले हिजो नै केही समयभित्रै नेपालमा टिकटक बन्द हुने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्