शंखधर जस्तै जनताको उपकार गरेर प्रधानमन्त्री प्रचण्ड आजको शंखधर बन्नुपर्छ : मन्त्री किराती



भक्तपुर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक सम्बृद्धि र गरिबीको अन्त्य गर्ने नेतृत्व सरकारले गर्नु पर्ने बताएका छन् ।
शंखधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रर्वतक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै उनले पुष्पकमल दाहाल प्रचण्ड आजको शंखधर प्रचण्ड बन्नुपर्ने बताए ।

शंखधर साख्वा समाजवादी साँस्कृतिक नायक भएको चर्चा गर्दै मन्त्री किरातीले भने, “धनी र गरिब हुनु हुदैन सबै समान हुनुपर्छ, ऋणी र साँहु हुनु हुदैन, भन्ने मान्यता राख्दै गरिबको ऋण मोचन गर्ने शंखधर साख्वा वर्गीय र जातिय मुक्तिका पक्षपाती समेत रहेकाले अब प्रचण्ड नेतृत्व सरकारले. आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गर्दै आजको शंखधर प्रचण्ड बन्नुपर्छ ।”

११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल सम्वत हटाई राणाहरुले भारतको बिक्रम सम्वत लागू गरेको चर्चा गर्दै आज प्रधानमन्त्री प्रचण्डले सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताए । सरकारले केही गरेको छैन भनेजस्तो हल्ला फिजाउन खोजिए पनि सरकारले भ्रष्टाचार नियन्त्रण लगायत सुशासन,विकास र समृद्धिका सन्दर्भमा महत्वपुर्ण कार्य गरेको र गर्ने बताए ।
नेपाल संवत नेपाली मात्रको आफ्नै मौलिक संवत हो भन्दै मन्त्री किरातीले सिंगो नेपाल र नेपाली मात्रको संवत भएकाले यो संवतप्रति नेपालीले गर्व गर्नुपर्छ भने ।

उनले संस्कृति, पर्यटन मन्त्रालयले शंखधरको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गरे । मन्त्री किरातीले नेपाली पर्व र जात्राहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताउँदै नेपालमा हुने जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्नेमा जोड दिए ।मन्त्री किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने बताउँदै आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा वामगति प्रदेशका पशुपंक्षी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नेपाल संवतलाई व्यवाहारिक रुपमा सरकारी कामकाजमा लागू गर्ने संघीय सरकारको निर्णय स्वागत योग्य रहेको भन्दै वागमति प्रदेश सरकारले पनि नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने निर्णय रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले इतिहास नरहे देश रहदैन, त्यसैले इतिहासलाई जोगाउनु पर्छ भने । उनले भने, “जसलाई देख्यो उसैको नाममा चोक, पार्क, गल्ली सडकको नामाकरण गर्ने प्रचलन बढेको छ, यसले हाम्रो इतिहास मेटिन्छ, त्यसैले इतिहासलाई जिवन्त राख्न, जथाभावी नामाकरण गर्ने बेतिथिको अन्त्य गर्न मौीलक नाम र इतिहासलाई जोगाउनु पर्छ ।”

रास्वपाका अध्यक्ष लामिछानेले लघुबित्त, सहकारी र बिभिन्न बैंकहरुको चर्को ब्याजका कारण ऋणको पासोमा बेरिएर कयौको घरबार बिहिन हुनुपर्ने, कयौले देश छोड्नु पर्ने अबस्था आएकाले सरकारले त्यस्ता संस्था तथा चर्को ब्याजलाई ब्यबस्थापन गरी ऋण तथा ब्याज मुक्त गर्ने ब्यबस्था गर्न माग गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दावेले नेपाली भूगोलमा उठ्दै गएको मौलिक पहिचान खोज्नु र स्थापित गर्नु जरुरी रहेको बताए ।

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाउदै उनले भने, “टिकटकलाई नियमन गरौ, बन्द होइन, बन्द गर्ने निर्णय सच्याएर खारेज गरौँ, सरकारले यस्ता कयौ आलोचना हुने निर्णय गर्दा पानी धमिलो बनाउने दृश्य, अदृश्य शक्तिहरु सल्बलाई रहेका छन्, यस्ता क्रियाकलापले लोकतन्त्रको उपलब्धी माथि प्रश्न उठाउन थालिएको छ, संिघीयता माथि प्रश्न उठन थालेको छ ।”

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले ४५० वटा मौलिक नाम, ठाउँ पहिचान गरेको बताउदै त्यस्ता मौलिक नामलाई टोलटोलमा स्थापित गर्ने बताए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले खाख्वाको प्रतिमामा २२ वर्षदेखि निरन्तर रुपमा सरकार प्रमुखले माल्र्यापण गरिरहेको बताउदै साख्वाःको योगदानलाई नेपालभरिनै प्रचार गर्ने अभियान सुरु भएको बताए । उनले शंखधरको प्रतिमालाई देश विदेशमा स्थापना गर्ने अभियान सञ्चालन भएको भन्दै नेपालको २२ ठाउँमा र अमेरिकाको बाल्टिमोडमासमेत साख्वाःको प्रतिमा स्थापना गरेको बताए ।

उनले थिमिको १२ रोपनी क्षेत्रफल रहेको शंखधर पार्कलाई साख्वाःको जिवन्त संग्रहालय बनाउने बताउदै अहिले पनि शंखधर भवनलाई मिनि संग्रहालयको रुपमा अध्ययन अनुसन्धान गर्ने थलो बनाएको बताए ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले ११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल सम्वत हटाई राणाहरुले भारतको बिक्रम सम्वत लागू गरेको चर्चा गर्दै नेपाल सम्वत ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल भएको बताउनुभयो । उहाँले पद्यमरत्न तुलाधरको नेतृत्वमा सुरु भएको आन्दोलन थप उपलब्धीका लागि अझै आवश्यक रहेको बताए ।

कार्यक्रममा मध्यपुरथिमिको मौलिक नामहरु समेटिएको शिलापत्र अनावरणम तथा शंखधर बुलेटिन बिमोचन गरिएको थियो ।
सो अवसरमा मध्यपुरथिमिको मौलिक नामको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्