नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौँ : प्रमुख साह



काठमाडौँ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मङ्गलबार काठमाडौंमा नेपाल सम्वत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख साहले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल सम्वतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने जानकारी दिए । उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

उनले भने, ‘‘नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्री पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’’

प्रमुख साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल सम्वत् प्रयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्