म्याग्दीमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु



म्याग्दी ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रवारदेखि जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरण सुरु गरिएको हो ।

पहिलो नागरिकता म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङ जन्मस्थान भई हाल अस्टेलिया निवासी दीपक भण्डारीलाई ००१ नम्बरको गैरआवासीय नेपाली नागरिकता प्रदान गरी गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी धवलागिरि–७, ताकम जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बसोबास गर्ने ऋषि नाथ सुवेदीलाई ००२ नम्बरको दोस्रो गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । कानुनअनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर गैरआवासीय नेपालीलाई नागरिकता वितरणको कार्य सुरुवात गरिएको उनले जानकारी दिए ।

म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता लिनका लागि तीन जनाले निवेदन दिएका थिए । उनीहरुमध्ये शुक्रवार दुई जनाले गैरआवासीय नागरिकता लिएको भए पनि चर्चित हिमाल आरोही निर्मल पूर्जाले भने व्यस्तताले आउन नपाएको हुँदा उनलाई पछि नागरिकता प्रदान गरिने प्रजिअ पौडेलले बताए । यसअघि सरकारले गएको असोज ३० गते गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरी अभियानको सुरुवात गरेको थियो ।

२०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार गएको जेठ महिनामा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । नागरिकता प्राप्त गर्नुअघि निवेदकहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्नेछ ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ । गएको जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्ने गरी संशोधन गरेको थियो । संशोधित ऐनको दफा ७ (क)मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिए बमोजिमको ढाँचामा शपथ गराउनुपर्ने व्यवस्था उल्लेख छ ।

संशोधित नागरिकता ऐनमा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था छ ।

यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता लिन पाउँछन् । नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्