धनेश्वरी बहुउद्देश्यीयका सदस्यमुखी कार्यक्रम



काभ्रे
सदस्यहरुलाई सीपमुलक, आयमुलक तालिम तथा लगानी गरी सदस्यहरुको बीचमा विश्वास कमाउँदै आएको बनेपाको धनेश्वरी बहुउद्देश्यीय संस्थाले २३ औ साधारण सभा सम्पन्न गरेको छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिका भित्रका सहकारीको अनुगमन गरी एकिन तथ्यांक सहितको प्रतिवेदन प्राप्त भएकाले सहकारीको ऐन, नियम र सिद्धान्त भित्र रहेका सहकारीलाई समन्वय गरी कानून विपरित संचालित सहकारीलाई कारवाहीको दायरामा ल्याउने बताए ।नगरभित्र रहेका केहि बाहेक अधिकांशमा सहकारीका सिद्धान्तहरु पालना नभएको प्रतिवेदनले देखाएकाले त्यस्ता सहकारीलाई नियमन गरी कानून अनुसार सच्चिन अवसर दिदै शेयर सदस्यहरुको बचत सुरक्षित गर्ने तर्फ नगरपालिकाले ध्यान दिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।

सल्लाहकार एवं मानव अधिकार सम्वन्धी अन्र्तराष्ट्रिय प्रशिक्षक राजु सरकारले धनेश्वरी बहुउद्देश्यीय सहकारीले उपलब्ध गराएको सेवालाई प्रभावकारी बनाउँदै शेयर सदस्यहरुलाई सीपमुखी र आयआर्जन केन्द्रित गर्नु पर्ने बताए । लेखापरिक्षक अर्जुनदास श्रेष्ठले लेखाका नियम भित्र रहेर सहकारीले गरेको कारोवार सहि भए पनि लगानीको क्षेत्रमा ध्यान दिनु पर्ने बताए ।

सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले संकट गहिरिदै गएको अवस्थामामा पनि धनेश्वरी सहकारीले शेयर सदस्यहरुको मन जितिरहेकाले विश्वास नघटाउन, शेयर सदस्यहरुको रकम सुरक्षित बनाउन र लगानी गरिएको ऋणलाई नियमित असुल गर्न सुझाव दिए । काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष कृष्णभक्त थापाले बहुउद्देश्यीय सहकारीले शेयर सदस्यका बहु आवश्यकताका कार्यहरु गरिरहेको बताए ।

जिल्ला सहकारी संघका उपाध्यक्ष अमन पोटेले सहकारी प्रतिको विश्वास बढाउन नियमन गर्ने दायरालाई बढाउँदै नियमित रुपमा कारोवार भएका र गरेका सहकारीहरुलाई प्रोत्साहन गर्नु पर्ने बताए । राष्ट्रिय सहकारी बैकका प्रवन्धक उपेन्द्र दाहालले सहकारी क्षेत्रमा विकृति देखिएकाले समयमै यसको रोकथाम र सहकारी प्रतिको विश्वास बढाउनु पर्ने बताए । वडा अध्यक्ष हिटलर शाक्यले ठुला ठुला सहकारीमा आएको समस्याले सबै सहकारी उस्तै हो कि भन्ने शंका उत्पन्न थालेको बताए ।

संस्थाका अध्यक्ष बद्रिप्रसाद पलाञ्चोकले धनेश्वरी सहकारीले शेयर सदस्यहरुको हितका लागि निरन्तर कार्य गरिरहेको बताए । १६ सय २३ सहकारीका शेयर सदस्यहरु मार्फत ६५ लाख ६८ हजार ३ सय शेयर पुँजी संकलन गरी ९ करोड ५० लाख १३ हजार ७ सय ३३ रुपैया बचत संकलन गरेको तथा ९ करोड ५३ लाख ३४ हजार ऋण लगानी गरेको बताए ।

संस्थाका सचिव श्यामकुमार भालुले आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन तथा चालु वर्षमा भईरहेका कार्यक्रमहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष उमेशरत्न शाक्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक सुरेश भोक्षिभोयाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा सहकारीका जेष्ठ सदस्य महिला, पुरुष, उत्कृष्ट ऋणी र बचतकर्ता तथा कर्मचारीलाई सम्मान गरिएको प्रवन्धक भवसागर रञ्जितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्