गैह्रीगाउँ हत्याकाण्ड : अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग



काठमाडौँ।

तीनकुनेको गैह्रीगाउँमा भएको हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध दायर गरेको मुद्दामा क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा उनलाई आजीवन कारागारमा राख्न माग गरिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

गत भदौ २० गते गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीले धारिलो हतियार प्रहार गरी दोलखा घर भई सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

प्रतिक्रिया दिनुहोस्