एमाले नेता शाहीलाई बालबालिका विरुद्धको कसुरमा मुद्दा



जुम्ला।

एमाले जुम्लाका उपाध्यक्ष तथा तातोपानी गाउँपालिका -८ का सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।

सोही वडाकी १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, प्रलोभनमा पार्ने गरी  फाेन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो।

पीडित किशोरीका बुबाले दिएको जाहेरीकाे आधारमा मंगलबार मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए। ‘पीडित किशोरीका बुबाले जाहेरी दिनु भएको छ,’ उनले भने, ‘बालबालिका सम्बन्धी ऐन -२०७५ अनुसार मुद्दा दर्ता भएको छ।’

सार्वजनिक भएको अडियाेमा नेता शाहीले बालिकालाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहाेरिदिने र बदलामा यौन सम्बन्ध राख्न दिनु पर्ने तथा संवेदनशील अंगकाे फाेटाे पठाउनुपर्ने भनी प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ।

नातामा ठूलो बुबा पर्ने शाहीले यौन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फाेनमा समेत गर्न थालेपछि अति भएर रेकर्ड गरेको पीडित बालिकाले बताएकी छिन्।

‘सुरुमा मलाई म्यासेज गर्दा हाम्रो गाउँको ठूलाे नेताले सम्पर्क गरे। हाम्रो पनि कोही रहेछ भन्ने लाग्यो,’ पीडित बालिकाले भनिन्, ‘ठूलाे बुबा भनेर आश मानेकाे त अपराधिक मानसिकता रहेछ। मलाई अति नै भएपछि मुद्दा पक्रियामा जानुपर्ने स्थित आएको हो।’

काठमाडौँमा ११ कक्षामा अध्ययनरत बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा पार्ने प्रयास गरेको पीडित किशोरीको भनाई छ। उनले नेता शाहीलाई प्रचलित कानुन अनुसार सजाय दिलाउन न्यायको ढाेका ढकढक्याउन पुगेको बताएकी छिन्।

‘म्यासेज र फाेनमा यौन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रेकर्ड गरेकी हुँ,’ उनले भनिन्, ‘त्यो रेकर्ड गरेको अडियो र उसले गरेका म्यासेजहरु प्रमाणकाे रुपमा पेस गरेकी छु।’

किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ काे दफा ६६ काे उपदफा (३) खण्ड (ग) बमोजिम जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरेको बताएका छन्।

‘हामी साेझा मान्छे देखेर आफ्नै छोरी समान मेराे माथि नेता शाही यौन अपराध गरे,’ उनले भने, ‘मेरी छाेरीले न्याय पावस र दाेसीलाई सजाय हाेस भनी जाहेरी दिएको हुँ।’

उनले सोही ऐनकाे परिच्छेद ९ मा रहेकाे बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेका छन्। खण्ड (ग) अनुसार ‘यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, गरेको खण्डमा दुर्व्यवहार गरेको मानिने’ भनी उल्लेख गरिएको छ।

ऐनकाे परिच्छेद ९ दाफा ७२ काे उपदफा ३ काे खण्ड  (ख) मा ‘दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ड), (ण) वा (थ) वा उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ) बमोजिमको कुनै कार्य गरेमा पचहत्तर हजार रूपैयाँ सम्म जरिबाना र तीन वर्षसम्म कैद गरिनेछ’ भनी लेखिएकाे छ।

त्यस्तै ऐनकाे दफा ७३ मा बाल अदालतले प्रचलित कानून र ऐन बमोजिमको बालबालिका विरुद्धको कसूरको कसूरदारलाई भएको जरिबानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति एकमुष्ट वा आवधिक रूपमा कसुरदारबाट भराइदिने व्यवस्था गरेको छ।

पीडित बालिकाले ऐनकाे दफा ७४ काे उपदफा (१) मा उल्लेखित दफा ६६ अन्तर्गत प्रचलित कानुनको हदम्याद भित्र जाहेरी लिएर मुद्दा प्रक्रियामा गएको बताएकी छिन्।

नेता शाही यस अघि २०७४ र २०७९ मा तातोपानी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए। दुई पटक पराजित भएका उनी आउँदो स्थानीय तहको चुनावमा पनि प्रत्यासीकाे रुपमा चर्चा गरिएका पात्र हुन्।

प्रतिक्रिया दिनुहोस्