एनआरएनए सचिवमा एसियाबाट नवीन विकको उम्मेदवारी घोषणा



काठमाडाैं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा नवीन विकले उम्मेदवारी घोषणा गरेका छन्।

आगामी असोज ३० गतेदेखि ४ कात्तिकसम्म काठमाडौंमा एनआरएनएको ११औं महाधिवेशन हुँदै छ। त्यसमा नवीन विकले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक रहेका विकले एघारौँ महाधिवेशनमा आफू सचिव पदमा उमेदवारी दिने घोषणा गरेको जानकारी दिए । ‘दुई वर्षको कार्यकालको लागि दुईवटा एजेन्डा मेरो छ’, उनले भने, ‘पूरा गर्न नसक्ने झुठो १० वटा एजेन्डाभन्दा पूरा गर्न सक्ने दुई वटा एजेन्डा उपयुक्त हुन्छ ।’उनले हरेक अधिवेशनमा अध्यक्ष, पदाधिकारी र राजनीतिक पहुँचका मान्छेले मात्रै कोटको खल्तीबाट डेलिगेट्सको नाम थोकमा निकालेर तोलमोल गरेर अनैतिक तवरले निर्वाचित गराइने निर्वाचन पद्धतिको अन्त्य गर्ने आफू निर्वाचनमा होमिएको प्रतिक्रिया दिए ।

योपटक आफू निष्पक्ष चुनावको लागि सम्पूर्ण साधरण सदस्यले भोट हाल्न पाउने नैसर्गिक अधिकारको लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए । हरेक वर्ष सोल्टी र हायात रेजेन्सीजस्तो तारे होटलमा सम्मेलन गरेरै करोडौँ रुपैयाँ खर्च गर्नु आवश्यक छैन’, उनले अगाडि भने, ‘अब हरेकचोटि मोफसलमा कुनै गाउँमा सम्मेलन गरेर, त्यो तारे होटलमा बस्ने, खाने र हलको लागि खर्च गर्ने करोडौँ रुपैयाँले दूरदराजमाको विश्वविद्यालय वा सरकारी अस्पताललाई स्त्तरोन्नति गरेर जनताको सेवा पुर्याउन पहल गर्नेछु ।’ ‘एनआरएनए अभियानमा म लामो समयदेखि सक्रिय छु । कामको अनुभव पनि बटुलेको छु,’ उनले भने, ‘निर्वाचित भएर काम गर्ने इच्छा छ ।’

उनी सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय छन् । संघका विभिन्न पदमा बसेर काम गरेको अनुभव उनीसँग छ । चितवन निवासी विकले चीनमा लामो समय बिताए । चीनबाट व्यवसाय सुरू गरेका उनले अहिले अमेरिका र मध्यपूर्वको युएईमा पनि व्यापार विस्तार गरेका छन् । विकले एसिया, अमेरिकाज र मध्यपूर्व क्षेत्रमा बलियो प्रभाव छ । युवामाझ पनि उक्तिकै परिचित छन् उनी । कोभिड महामारीका बेला सरकारले ओम्नी ग्रुपमार्फत खरिद गर्न लागेको स्वास्थ्य सामग्रीमा आर्थिक चलखेल हुँदैछ भनेर उनले आवाज उठाएका थिए ।

चौतर्फी विरोध भएपछि सरकार स्वास्थ्य सामग्री खरिद गर्नबाट पछि हटेको थियो । उनको उमेदवारीलाई विश्वभरका गैरआवासीय नेपालीले सकारात्मकरूपमा लिएका छन् । उनी सन् २००७ देखि निरन्तर एनआरएनएमा आवद्ध भई चीनमा, दुई कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष, एक कार्यकाल संरक्षक, एक कार्यकाल आइसिसी सदस्य र हाल एक कार्यकाल डिआरसी–एसिया प्यासिफिकमा काम गरेका अनुभव छ ।

को हुन् नवीन विके ?

हक्की, साहासी र निडर स्वभावका नवीन विकेको जन्म चितवनमा भएको हो । भरतपुर महानगरको शिवनगर घर भएका उनले आफ्नो शिक्षा नारायणगढको बालकुमारी माबि र काठमाडौको शान्तिनगर कलेजबाट पूरा गरेका थिए । सरल सहयोगी मनका धनी उनी रोजगारीको शिलशिलामा २००५ देखि चीनमा बसोबास गर्न थालेका थिए । उनले चीनमा विवाह गरेका छन् ।
उनको ३ जना सन्तान छन र अहिले अमेरिकाको मेरील्यान्ड राज्यमा अध्यनरत छन। चीनमा रहँदा विभिन्न अलपत्र परेका, चीनको जेलमा परेका, लास अलपत्र परेकाहरुको धेरै उद्धार उनले गरेका थिए । मातृभूमि नेपालमा भूकम्प, आगलागी, शीतलहर, बाढीपहिरो जाँदा पनि सहयोगको लागि महत्त्वपूर्ण भूमिका खेलेको थिए ।

चीन हुँदै उनले सन् २०१८ देखि अमेरिकामा पनि बसोबास तथा कारोबार सुरू गर्न सफल भएका छन् । यस्तै, २०१९ मा स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नीको विरुद्ध आवाज उठाएर भ्रष्टाचारी टेन्डर खारेज गराउन भूमिका खेलेको काम विश्वभर नै चर्चाको विषय बनेको थियो ।

व्यापार व्यवसाय समयअनुसार परिमार्जन गर्दै लैजानपर्छ भनि उनले सन् २०२३ मा दुबईमा पनि आफ्नो कारोबार फैलाउँदै, कम्पनीमा सबै शत प्रतिशत नेपाली स्टाफहरुलाई रोजगार सिर्जना गर्न पनि उनी सफल छन् । कोरोनाको समयमा विभिन्न स्वास्थ्य सामग्री नेपाल पठाउन भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्