अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बाबु प्रकरण : ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस



विराटनगर । अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बाबुको विरुद्धको मुद्धामा बहस शुरू भएको छ । आज (मंगलबार) देखि उक्त बहस शुरू भएको हो ।

कुमारी आमाले जन्माएको नवजात शिशु बेचेको घटनामा संलग्न ६ जनाविरुद्ध दायर मुद्दामाथि आजबाट बहस शुरू भएको छ ।

विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा सोमबार मुद्दा दायर भएको छ ।

प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको इटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने सुक्री राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाएको छ ।

घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रवार वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।

२६ वर्षीया कुमारी आमाले ‘नर्मल डेलिभरी’ मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते छोरी जन्माएकी थिइन् । प्रेमी गोविन्दसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

युवतीले साउन ३२ गते मोरङ प्रहरीमा बच्चा हराएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्