इजरायल घटना– सरकारलाई सहयोग गर्ने एसएस फाउण्डेशनको चाहना



काठमाडौं । एसएस फाउण्डेशनका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र पत्रकार चिरञ्जीवी मास्केले सोमबार परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई भेटेर इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारलाई नागरिक स्तरबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक परे एसएस फाउण्डेशनले नागरिक स्तरबाट विमान चार्टरमा समेत सहयोग गर्नसक्ने संरक्षक समाजसेवी शोभित उप्रेतीको बताए ।

त्यसलगतै परराष्ट्र सचिव पौडेललाई भेटन परराष्ट्र मन्त्रालय पुग्नु भएका फाउण्डेशनका अध्यक्ष श्रेष्ठले संकटको घडीमा नागरिकस्तरबाट समेत सरकारलाई आवश्यक सहयोग हुनुपर्ने उल्लेख गर्नुहुँदै त्यसको लागि आफूहरू तयार रहेको बताउनु भएको थियो ।

सरकारले आवश्यक महसुस गर्छ भने हामी इजरायलमा रहेको नेपालीलाई स्वदेश फर्काउन विमान चार्टरको लागि समेत सहयोग गर्न तयार छौँ, मन्त्रालयका सचिव पौडेलसँगको भेटमा फाउण्डेशनका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

जवाफमा परराष्ट्र मन्त्रालयका सचिव पौडेलले इजरायलमा भएको घटना र त्यसबाट उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको र स्वदेश फर्कन चाहने नेपालीलाई विमान चार्टर गरी ल्याउन सरकारले दुईवटा विमान तयारी अवस्थामा राखेको बताउनुभयो ।

तपाईंहरूको सद्भावको लागि धन्यवाद भेटमा सचिव पौडेलले भन्नुभयो– ‘सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन दुईवटा विमान तयारी अवस्थामा राखेको छ । अहिले त्यस्तो सहयोगको आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्