समापन समारोहमा नेपालको झण्डा एरिकाले बोक्ने



हाङझाउ । हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को समापन समारोहमा नेपालको झण्डा कराते खेलाडी एरिका गुरुङले बोक्ने भएकी छन् ।

नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समापन समारोहको मार्चपासमा नेपालको झण्डा एरिकालाई बोक्न दिने निर्णय गरेको हो । एसियाडको औपचारिक समापन आइतबार स्थानीय समय अनुसार बेलुका ८:०० बजे हुनेछ ।

एरिेकाले शनिबार मात्र करातेमा नेपालका लागि रजत पदक दिलाउनुभएको थियो । यसअघि एसियाडको उद्घघाटन सत्रको मार्चपासमा नेपालको झण्डा बीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले बोक्नुभएको थियो । एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको थियो । जसमा महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी थिए ।

नेपालले करातेमा एक रजत र महिला कबड्डीमा कांस्य पदक जितेर १९औं एसियाड यात्रालाई टुङ‌याँउदै छन् । अन्तिम पदक तालिकामा नेपालले ३३औं स्थान ओगटेको छ। यधपि ३२औं स्थानको ब्रुनाईको पनि एक रजत र एक कांस्य भएपनि वर्णानुक्रम अनुसार नेपाल ३३औं स्थानमा सुचीकृत भएको हो। नेपालपछि रहेको ओमानको पनि समान एक रजत र एक कांस्य रहेको छ।

एसियाडमा नेपालको सहभागिता संख्या अहिलेसम्मकै ठूलो हो । एसियाडको अन्तिम दिन आइतबार बिहान करातेको महिला ८५ केजीमुनि तौल समूहको अन्तिम ३२ को चरणको खेलमा नेपालकी सविना श्रेष्ठ चीनकी रानरान लीसँग ३-१ अंकले पराजित हुनुभयो । करातेको खेलसँगै एसियाडमा समावेश ४० वटै खेलको सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्