इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर



काठमाडौँ।

इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको थियो। आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाएको हो।

मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय पनि भइरहेको जनाएको छ।

युद्धको अवस्था भएकाले इजरायलमा भएका नेपालीहरूलाई चनाखो रहन र सरकारी अधिकारीहरूले सुझाएको सुरक्षा मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्