बसको ठक्करबाट एक युवकको मृत्यु, ३ घाइते



बारा। 

बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा यात्रु बसको ठक्करबाट एक जना मोटरसाइकल मिस्त्रीको शनिवार बिहान मृत्यु भएको छ । सोही दुर्घटनामा अटोमा सवार थप ३ जना घाइते भएका छन् ।

नारायणघाटबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ ख ९७९३ नम्बरको यात्रु वहाक बसले अर्को सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई उछिन्ने क्रममा निजगढ बजारको एक ग्यारेजमा मर्मतपछि परीक्षणको गुडाएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ जुगुवाका वर्ष २० का मोटरसाइकल मिस्त्री दिनेश चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

यात्रु प्रतिक्षालय नजिक आइपुगेपछि अगाडि गुडिरेहेको अर्को बसलाई उछिन्ने क्रममा सो बसले पश्चिमतर्फ जाँदै  गरेको सो मोटरसाइकललाई बिहान ९ः ४५ बजे ठक्कर दिएको थियो । बसको ठक्करपछि उक्त मोटरसाइकल नजिकै सोही दिशातर्फ गुडिरेहेको ना ३ स ९२३७ नम्बरको ई रिक्सामा ठोक्किएको र ई रिक्साले विपरित दिशाबाट आउदै गरेको प्र २–०३–००१ ह १०६६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ई रिक्साको ठक्करबाट अटो चालक निजगढ नगरपालिका वडा नम्बर १० लाल बस्ने वर्ष २४ को सुकराम बम्जन, सोही ठाउँ बस्ने वर्ष २२ को सानतेन लामा र जिल्लाको जीतपुरसिमरा वडा नम्बर १६ बस्ने वर्ष २१ को कुलबहादुर थिङ्ग घाइते भएका छन्।

‘बसका चालकबीच प्रतिक्षालयका यात्रु कस्ले पहिला चढाउने भन्ने होडबाजी गरेका रहेछन, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले भने,  तीव्र गतिमा ओभरटेक गर्दा बस मोटरसाइकलमा ठोक्किएर दुर्घटना भयो ।’

घाइतेहरुको स्थानीय सामुदायिक अस्पताल र मुहम्मदी क्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज र सिमरा पठाइएको प्रहरी निरीक्षक  श्रेष्ठले जानकारी दिए । घाइतेहरुको अवस्था मध्यम रहेको र बसका चालक सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नम्बर १२ का वर्ष ३० का अजय ठाकुरसहित ३ वटै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्