नेपाली खेलकुदलाई उँचाइ दिने क्रिकेट नै



काठमाडौं । नेपाली क्रिकेटको शान विश्वभरि फैलिएको छ । नेपालको खेलकुदलाई केही हदसम्म उँचाइमा ल्याउन क्रिकेटकै देन भने पनि हुन्छ । खेल धेरै छन्, तर, क्रिकेटमा जस्तो सफलता नेपाली खेलकुदले अहिलेसम्म पाउन पनि सकेको छैन । यही कारण क्रिकेटलाई नेपालको सबैभन्दा सफल खेल भन्दा दुई मत नहोला । यसो भन्दैमा अरु खेलले केही गरेन भन्ने आसय पनि होइन । जति चर्चा क्रिकेटले पाउँछ त्यति चर्चा अरुले पाउँदैन यो सत्य हो ।

चीनमा जारी एशियाड २०२३ मा पुरुष क्रिकेटतर्फ नेपाली क्रिकेटले विश्वभरिको ध्यान तान्यो । असोज १० गते बुधबार चीनको हाङझाउमा भएको क्रिकेट खेलमा नेपालले मंगोलियालाई २ सय ७४ रनले पराजित गरेको थियो । यो खेलमा विश्व कीर्तिमान बनेपछि विश्वभरिका अखबारको खेल पृष्ठ नेपालको प्रशंसाले स्थान पाएको थियो । जबकी सोही दिन भारत र अस्टे«लियाबिच एकदिवसीय क्रिकेट भएको थियो । तर, यसको खबर भन्दा बढी नेपालकै खबर बढी भयो ।

टी २० अन्तर्राष्ट्रियमा १० उच्चतम स्कोर
स्कोर टिम विरुद्ध स्थान
३१४/३ नेपाल मंगोलिया हाङझाउ
२७८/३ अफगानिस्तान आयरल्यान्ड देहरादुन
२७८/४ चेक रिपब्लिक टर्की काउन्टी
२६३/३ अस्टे«लिया श्रीलंका पालेकेले
२६०/६ श्रीलंका केन्या जोहानसबर्ग
२६०/५ भारत श्रीलंका इन्डोर
२५९/४ दक्षिण अफ्रिका वेस्टइन्डिज सेन्च्युरियन
२५८/२ चेक रिपब्लिक बुल्गेरिया मार्सा
२५८/५ वेस्टइन्डिज दक्षिण अफ्रिका सेन्च्युरियन
२५६/५ डेनमार्क जिब्राल्टार वाटरलू

टी २० अन्तर्राष्ट्रियका १० सर्वाधिक छिटो शतक
बल ब्याटर (देश) विपक्षी

३४ कुशल मल्ल (नेपाल) मंगोलिया (२०२३)
३५ डेभिड मिलर (दक्षिण अफ्रिका) बंगलादेश (२०१७)
३५ रोहित शर्मा (भारत) श्रीलंका (२०१७)
३५ सुदेश विक्रमासेकरा (चेक रिपब्लिक) टर्की (२०१९)
३९ शिवकुमार पेरियाल्वर (रोमानिया) टर्की (२०१९)
४१ हेनरी जर्ज मुन्सी (स्कटल्यान्ड) नेदरल्यान्डस् (२०१९)
४१ शहेरयार बट (बेल्जियम) चेक रिपब्लिक (२०२०)
४२ हजरातुल्लाह जजाइ (अफगानिस्तान) आयरल्यान्ड (२०१९)
४३ जीन पिइरे कोटजे (नामिबिया) बोत्सवाना (२०१९)
४५ सुर्यकुमार यादव (भारत) श्रीलंका (२०२३)
४५ फाफ डु प्लेसिस (दक्षिण अफ्रिका) वेस्टइन्डिज (२०१५)

यस्तै बीबीसी स्पोर्ट्समा पनि नेपालले पाएको कीर्तिमान जितको समाचार छापिएको थियो । यो भन्दा पनि सबैभन्दा खुशीको कुरा नेपालको छीमेकी राष्ट्र भारतमा समेत नेपाली खेलाडीको प्रशंसा गरिएको थियो । उक्त खेलमा नेपाली खेलाडीले भारतीय खेलाडीको कीर्तिमानलाई समेत ओझेलमा पारेका हुन् ।

यति मात्रै होइन, नेपाली खेलमध्ये क्रिकेटले जारी एशियाड २०२३ मा नेपालको शान राखेको छ । अरु खेलमा चुनौती समाप्त भइरहँदा क्रिकेटले चीनमा तहल्का नै मच्चायो । एशियाडको समाचार खासै विश्वमा मायना राख्दैन, तर, नेपालले गरेको विश्वस्तरीय प्रदर्शनले गर्दा एशियाडलाई समेत विश्वभरि फैलाइदियो ।

३ सय १४ रन

टी २० खेलमा लगभग १ सय २० बल हुन्छन् । यसमा २ सय रन प्रहार गर्नु नै विशाल स्कोर हुन्छ । तर, नेपालले यो विधामा ३ सय रन पार ग¥यो । योसँगैं टी २० अन्तर्राष्ट्रिय खेलमा ३ सय स्कोर गर्ने नेपाल पहिलो टोली बनेको छ ।

यसअघि २ सय वा २ सय ५० रन पार गरेको विश्व कीर्तिमानी थियो । तर, यो विश्वकीर्तिमानी अब नेपालसँग भइसक्यो । नेपाल टी २० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा सर्वाधिक उच्चतम स्कोर गर्ने टोली बनेको छ । नेपालले मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको हो ।

शतकमा पनि नेपाल

नेपाली खेलाडी कुशल मल्लले टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक प्रहार गरेर विश्व कीर्तिमानीमा नेपालको नाम लेखाए । कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन् । नेपालका उदीयमान क्रिकेटर कुशलले एक बलले विश्वका धुरन्धर खेलाडीको विश्व कीर्तिमान ध्वस्त पारे । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमासेकराले ३५ बलमा शतक प्रहार गरेका थिए । यसमध्ये रोहित र डेभिड आक्रमक र विश्वस्तरीय क्रिकेटर हुन् । यसको बावजुद कुशलले यिनीहरुको विश्व कीर्तिमान छिनेर आफ्नो बनाए ।

दीपेन्द्रको कीर्तिमान तोडिनेछैन

नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले रचेको विश्व कीर्तिमान भने अब कोही खेलाडीले पनि तोड्न सकिने अवस्था छैन । दीपेन्द्रले मंगोलियाका बलरविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ९ बलमा अर्धशतक प्रहार गरे । यो विश्व कीर्तिमान बनेको छ । यो कीर्तिमान कहिल्यै तोडिने छैन । ८ बलमा लगातार छक्का प्रहार गरे पनि ४८ रन हुन्छ । ५० रन बनाउन अर्को एक बल खेल्नै पर्ने हुन्छ, यसकारण दीपेन्द्रको कीर्तिमान तोडिन मुश्किल नै छ ।

दीपेन्द्रले भारतीय अलराउन्डर युवराज सिंहको विश्व कीर्तिमानलाई ध्वस्त बनाइदिए । युवराजले १२ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । तर, दीपेन्द्रले ३ बल कम खेलेर विश्व कीर्तिमान बनाए । उनले लगातार ७ छक्का प्रहार गरेर ४२ रन बटुले, अर्को बलमा २ रन लिएर ४४ रन बनाए । यसपछि अर्को बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएपछि दीपेन्द्रको नाम विश्वभरि छायो ।

मंगोलिया नयाँ टिम

अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलिया नौलो नाम हो । मंगोलियाको क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग आबद्ध भएको धेरै वर्ष भएको छैन । सन् २०२१ मा आईसीसीको असोसिएसिट सदस्य बनेको मंगोलियाको जारी एशियाडमा पहिलो खेल समेत थियो । पहिलो खेलमै नेपाल जस्तो टोलीसँग सामना गरेको मंगोलियाले ४१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्