विश्वकर्मा पूजा मनाउँदै गरेका दुई समूहबीच झडप, एक जनाको मृत्यु, तीन घाइते 



बुटवल। 

विश्वकर्मा पूजा मनाउँदै गरेका मजदुरहरुको दुई समूहबीच झडप हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ  ।
झडपमा  अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो ।

झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । सुरेशको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मदिरा सेवन गरी मजदूरहरु धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए ।

झडपका क्रममा घाइते हुनेहरुमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताइए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्