आमाछोराको ज्यान बेपत्ता गरेको आरोपमा तीन जना पक्राउ

बेपत्ता महिलाका आफन्तद्वारा प्रहरी कार्यालय घेराउ 



कालिकोट ।

 दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ कट्टी घर भई मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी  कान्छी पत्नी गीता जैसी र उनका चार वर्षीय छोरालाई घरेलु हिंसा गरी हत्या गर्नुका साथै ज्यान बेपत्ता पारेको आरोपमा प्रहरीले जेठी पत्नी रन्जना शाहीसहित तिन जनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालतमा अंस वन्डाको मुद्दा चलिरहेको वेला जेठी सौताले योजना बनाएर केटा लगाएर हत्या गरी लास बेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानको लागि आरोपित शाहीसहित तिन जनालाई घरबार्टै पक्राउ गरिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताएका छन्  । उनका अनुसार पतिले घरेलु हिंसा गरेपछि घरबाट विस्थापित भई एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको उजुरी प्रहरीसँग पुगेपछि खोजी भइरहेको छ ।

 साथै डिएसपी केसीले कोठामा महिलाका रौँ उखेलिएको अवस्थामा भेटिएको उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी हिरासतमा राखिएको जानकारी दिएका छन् ।

दानबहादुर शाही र जेठी पत्नी रन्जनाले कुटपिट गरी घर निकाला गरेपछि एक वर्षदेखि विस्थापित भई खाँडाचक्र १ मान्म डेरा गरी  बस्दै आएकी जैसिलाई बजारबाट भदौ २१ गते रातिदेखि ४ वर्षीय छोरासहित बेपत्ता भएका हुन् ।

 पतिसँग झगडा परेपछि कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् ।

गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

 गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौँ उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी फुपू नाता पर्ने अम्रीता न्यौपाने बताइन्  । उनका पति र सौताको षड्यन्त्रमा बेपत्ता बनाइएको हुनसक्ने न्यौपानेको दाबी रहेको छ । ’पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्,’ उनले भनिन्, ’अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।’ उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोस्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् ।

मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन् । दैलेख भगवतीमाई ५ कट्टी स्थायी ठेगाना भई मान्म बजारमा बस्दै आएका दानबहादुर शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन् ।

भदौ १० गते गीतालाई बोक्सीको आरोपमा र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैँले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले गिरफ्तार गरी  प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वजनिक भएको थियो ।

यहाँका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
आमा छोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले भदौ २२ गते बिहानैदेखि मान्म बजारमा प्रदर्शन गर्दै शाहीको घरमा ढुंगामुढाको प्रयास गरेपछि प्रहरीले उनको मान्मस्थित घरमा सुरक्षा दिइरहेको छ । आफन्तले महिला र बाल हिंसाविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्