कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार



काठमाडौं । 

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर बाहिरिएका नेता यादवलाई नुवाकोटको विदुर नगरपालिका तुप्चेका श्याम बहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन् ।

आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने गरेको सापकोटालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागी हिरासतमा राखेको छ । पक्राउपछि सिंहदरबार प्रहरी बृत्तमा लगिएका सापकोटाले प्रहरीको सोधपुछका क्रममा रिसको झोकमा आक्रमण गरेको स्वीकार गरेका छन् । घाइते यादवको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहे पनि टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा र भ्रष्टाचार तथा कुशासनको विरुद्धमा नाराबाजी गरेका थिए । रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीका अनुसार यादवले रिपोटर्स क्लबमा नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गर्नुभएको थियो ।

साक्षात्कारमा करिब २५ मिनेट धारणा राखेका यादवमाथि क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको कार्कीको भनाइ छ । कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका आक्रमणकारी सापकोटाले अतिथिहरु निस्कने क्रममा सँगै निस्कीएर खुकुरी प्रहार गरेको स्वीकार गरिसकेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार क्लबबाट यादव बाहिरिएसँगै पिछा गर्दै बाहिर निस्केका सापकोटाले झोलाबाट खुकुरी निकालेर यादवलाई प्रहार गरेको हो । यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ ।

यसैबीच नेपाली कांग्रेसले नेता यादवमाथि भएको सांघातिक आक्रमणको नेपाली कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्