विवाद टुंग्याएर सुदूरपश्चिम प्रदेशको राजधानी निर्माण कार्य सुरु गरिने मुख्यमन्त्री शाहको दाबी



डडेलधुरा । 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी गोदावरीमा हुने वा नहुने बारेमा उत्पन्न विवाद टुंग्याएर छिट्टै टुंगोमा पुग्ने र राजधानी निर्माणको प्रक्रिया सुरु गरिने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन डडेलधुरा शाखाले बुधवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानीका विषयमा उत्पन्न विवाद र अवरोधहरू चाँडै टुंग्याउने दाबी गर्नुभयो । प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलहरूबीचमा आफूले छलफल थालिसकेको उहाँको भनाइ छ ।

‘मैले गठबन्धनमा संलग्न सबै राजनीतिक दलहरूबीचमा छलफल सुरु गरिसकेको छु । गोदावरीमा राजधानी बनाउने अघिल्लो प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णय पनि हो । तर, विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ ।’

उहाँले गोदावरीमा राजधानी बनाउन नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि बताउनु भयो । एक चरणमा सङ्घीय सरकारसँग यहाँको राजधानीका बारेमा सबै कुरा राखेर विकल्पको बारेमा पनि छलफल अगाडि बढाइने मुख्यमन्त्री शाहले जानकारी दिनुभयो । ‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुंग्याउने पक्षमा छौँ । एक पटक सङ्घीय सरकारसँग यहाँको सबै यर्थाथ परिस्थितिबारेमा जानकारी गराउँछौँ ।

सङ्घीय सरकार र सरोकारवाला मन्त्रालयले अनुमति दिएमा गोदावरीमै राजधानी निर्माणको काम सुरु हुन्छ,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ ।’ उहाँले विकल्पको रूपमा राजधानी राख्ने ठाउँको नाम भने खुलाउन चाहनु भएन ।

तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा सुदूरपश्चिम प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरे फेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन नसकेको छैन । गोदावरी क्षेत्रमा वन विनास गरेर राजधानी निर्माण गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएकाले राजधानी निर्माणको काम अवरुद्ध भएको हो ।

मुख्यमन्त्री शाहले तत्काल सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन भइहाल्ने अवस्था नरहेको बताउनुभयो । यदि आवश्यकता महसुस भएको खण्डामा प्रदेशको नामका विषयमा पनि छलफल चलाउन सकिने उहाँको भनाइ थियो । सुदूरपश्चिममा गठबन्धनको सरकार पाँच वर्षसम्मै चल्ने दाबी गर्नुहुँदै मख्यमन्त्री शाहले सुदूरपश्चिमको विकास र समृद्धिका पक्षमा प्रदेश सरकार कटिबद्ध भएर अगाडि बढिरहेको जिकिर गर्नुभयो । उहाँले प्रदेश सरकारले यहाँको कृषि, ऊर्जा र पर्यटनको क्षेत्रलाई विशेष महत्वका साथ लिएर अघि बढेको बताउनु भयो ।

मुख्यमन्त्री शाहले बुधबारनै डडेलधुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव समारोहको समुद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री शाह प्रमुख अतिथि रहनु भएको समारोहको मञ्च ढलेपछि केहीबेर भागाभाग भएको थियो । समारोहको स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधीहरुलगायत थिए । मञ्च भत्किएर चोट भने कसैलाई पनि लागेको छैन । मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्