महिला उद्यमी र कलाकारसहित पोखरामा टेवानको तीज महोत्सव



पोखरा ।

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले पोखरामा तीज महोत्सव गर्दै छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर टेवानले पोखरामा भदौ २५ गतेदेखि तीज सांस्कृतिक महोत्सव गर्न लागेको हो ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारा बोकेर राष्ट्रिय कलाकारसहित टेवानले पोखरामा पहिलोपटक भव्य रुपमा तीज सांस्कृतिक महोत्सव गर्न लागेको हो । गण्डकी प्रदेशभरीका पर्यटन महिला व्यवसायीहरुको प्रत्यक्ष सहभागितामा हुने कार्यक्रममा पोखरा र राष्ट्रियस्तरका कलाकारहरुले जोडदार प्रस्तुती दिनेछन् ।

‘हामी पहिलोपटक महिला व्यवसायीहरु मिलेर कोभिड र आर्थिक मन्दीले थलिएको पोखराको पर्यटन व्यवसाय उठाउन चाहन्छौँ’ कार्यक्रमबारे सोमबार पत्रकार सम्मेलन गर्दै टेवानकी अध्यक्ष कमला गिरीले भनिन्, ‘यो तीज महोत्सव देशका महिला उद्यमीहरुको पनि सम्मेलन हो ।’

भदौँ २७ गतेसम्म चल्ने महोत्सव कोमागाने पार्क लेकसाइड पोखरामा सञ्चालन हुनेछ । महोत्सव संयोजकसमेत रहेकी अध्यक्ष गिरीका अनुसार महोत्सवमा खेलकुद कार्यक्रम, तीज गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रदर्शन लगायतका कार्यक्रम रहनेछन् ।

महोत्सवमा स्वदेशी तथा विदेशी खानाका स्टल, गण्डकी प्रदेशका ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरूको बजारीकरण, सांस्कृतिक कार्यक्रम सहितका मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । पोखरामा पर्यटनको आकर्षण र विदेशी पर्यटक भित्र्याउने समय भएकाले अफसिजनमा पनि तीज महोत्सव कार्यक्रमले नयाँ आयाम दिने अध्यक्ष गिरीको विश्वास छ ।

‘अफसिजनमा कार्यक्रम गरेर हामीले पोखराको पर्यटन उकास्न खोजिरहेका छौँ’ उनले भनिन्, ‘यसका लागि तपाईहरु सबैको साथ सहयोग चाहिन्छ । टेवानकी संस्थापक अध्यक्ष लक्की कार्कीले संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य आफूहरूले राखेको बताइन् । संस्था स्थापनाको छोटो समयमा नै पर्यटन प्रवद्र्धन हुने खालका विभिन्न कार्यक्रम आयोजना गरिएको र सबैको साथ सहयोगका कारण यसपटक महोत्सव झनै भव्य हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा हुने विभिन्न प्रतिष्पर्धाका विजेतालाई नगद पुरस्कारसहित सम्मानको पनि व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिताका लागि महिला व्यवसायीहरुका साथै सातै प्रदेशका नाट्टा, टान र हानका प्रतिनिधि पनि पोखरा आउने तयारी छ ।

तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका राधिका हमलाले प्रस्तुती दिनेछन् । यस्तै चोलेन्द्र पौडेल, सीता सुवेदी, जीवन दाहाल, घनश्याम रिजाल, राजन कार्की, रामजी पौडेल, कृष्ण सुवेदी, सरस्वती लामिछाने, पार्वती गुरुङ, सुनिता नेपाली लगायत कलाकारले पनि महोत्सवमा आफ्नो प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्