वन मन्त्रालयले पायो वनकै विज्ञ सचिव 



काठमाडौँ। 

वन तथा वातावरण मन्त्रालयले वनकै विज्ञका रुपमा रहनु भएका डा दिपक कुमार खराललाई सचिवको रुपमा पाएको छ । सरकारले पशुपक्षी विकास मन्त्रालयका सचिव डा खराललाई वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

यस अघि वन तथा वातावरण मन्त्रालयमा कृषि तर्फका डा रेवतीरमण पौडेल सचिवको रुपमा रहनु भएको थियो । कृषि तर्फका सचिव पौडेललाई पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरि पशुपक्षी विकास मन्त्रालयका डा खराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको हो । यस अघि वनका सचिवलाई कृषि तथा पशुपंक्षीमा र कृषि तर्फका सचिवलाई वनमा राखिएको भन्दै सरकारको आलोचना भएको थियो । सरकारले विज्ञता अनुसार खराललाई वनकै सचिवको जिम्मेवारी दिएको हो ।

 वन मन्त्रालयका सचिवको रुपमा आउनुभएका डा खरालले वनवृत्ति र जलवायु परिवर्तनको अन्तरसम्बन्ध विषयमा विद्यावारिधि गर्नुभएको छ । खरेलले सहसचिव रहँदा वन मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय निकुञ्ज तथा  वन्यजन्तु संरक्षण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभागको महानिर्देशक तथा राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिको सदस्य सचिव, रेड कार्यान्वयन केन्द्रका प्रमुख, नेपाल वन निगमको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । साथै उहाँले सुदूर पश्चिम र गण्डकी प्रदेशको वन सचिवको रुपमा रहेर कार्य गर्नुभएको थियो । वन क्षेत्रमा देखिएका विभिन्न समस्याहरु समाधान गर्न र बिग्रँदै गएको वन प्रशासनलाई सुधार गर्न वनकै अनुभवी विज्ञ सचिवको रुपमा रहनुभएका डा खरालको भूमिका महत्वपुर्ण हुने वनसरोकारवालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्