पत्रकारको क्यामरा द्वारमै रोकेर राष्ट्रिय पुरस्कार प्रदान- हरिवंश र दीया उत्कृष्ट, फिल्म गायब



चलचित्र विकास बोर्डले चरम लापरवाही प्रदर्शन गर्दै २०७८ र ०७९ को गरी मंगलबार दुई वर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकसाथ प्रदान गरेको छ।

राष्ट्रिय चलचित्र पुरस्कार समारोह सधैंजस्तै राष्ट्रपति भवनमै आयोजना गरिए पनि पहिलोपटक आयोजक चलचित्र विकास बोर्डको चरम लापरवाही समारोहमा देखियो। मोबाइल र क्यामरा प्रवेशद्वारमै राख्न लगाई पत्रकारलाई समाचार संकलन र तस्वीर खिच्न रोक लगाइएको कार्यक्रममा सहभागीहरूको पारिवारिक सदस्यहरूको भने घुइँचो देखियो।

अव्यवस्थित समारोहबीच २०७८ र ०७९ मा प्रदर्शनमा आएका फिल्मबाट राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट फिल्मको विधा नै गायब पारिएको कार्यक्रममा फिल्म महापुरुषबाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता र प्रकाशबाट दिया मास्के अभिनेत्री विधाको राष्ट्रिय चलचित्र पुरस्कार विजेता भएका छन्। राजधानीको महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोेजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजयीहरूलाई पुरस्कार प्रदान गरेका थिए। समारोहमा राष्ट्रपति पौडेलले वर्ष २०७८ का लागि अभिनेत्री लक्ष्मी गिरी र २०७९ का लागि अभिनेता शिव श्रेष्ठलाई जनही तीन लाख ७५ हजार रुपिया“सहित चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गरे।

समारोहमा प्रकाशबाट दिनेश राउत उत्कृष्ट निर्देशक, चिसो मान्छेबाट दीपेन्द्र के खनाल लेखन (कथा, पटकथा र संवाद), लप्पन छप्पनबाट पुरुषोत्तम प्रधान छायांकन, र दोखबाट निमेष श्रेष्ठले सम्पादनको अवार्ड उचाले। त्यसैगरी, गुरुङ भाषाको हुलन छया“ब (देशै राम्रो) लाई आदिवासी जनजाती फिल्म तथा ऐना भ्mयालको पुतली र गोर्खा विनिथ द ब्रेभरीलाई जुरी अवार्ड प्रदान गरियो। राष्ट्रिय पुरस्कार विजेतालाई जनही २५ हजार रुपिया“ प्रदान गरिएको छ। राष्ट्रिय पुरस्कारमा राजेन्द्र शलभ निर्णायक संयोजक तथा सरिता गिरी, शिवम अधिकारी, अनुप भट्टराई र चेतन सापकोटा निर्णायक थिए।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्देशक शोभित बस्नेत, ऋषिराज आचार्य, सुदर्षन थापा, केदारप्रसाद पाठक, विमल पौडेल, दयाराम दाहाल, प्रितम गुरुङ, भूपेन्द्रकुमार खड्का र सुनिल पाण्डे, कलाकारहरू अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, कमलप्रसाद शर्मा (अर्याल), कमलकान्त मैनाली, किरण केसी, झरना थापा, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विमला केसी, सन्तोश पन्त, सुनिल कटुवाल र सुवासप्रसाद गजुरेल, गायक शिव परियार, एरेञ्जर सुनयमान श्रेष्ठ, छायांकार गौरीशंकर धुजु, निर्माता सुवास गिरी र कृष्णप्रसाद पोखरेल, वितरक रमेश ढकाल, गीतकार डब्बु क्षत्री, फिल्म व्यवसायी ओम अग्रवाल, एनआरएन दुबई निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगाना, प्राविधिक मनोज केसी र चितवनको इन्द्रदेव चलचित्र मन्दिरलाई विशेष योगदान सम्मान प्रदान गरिन्।

प्रतिक्रिया दिनुहोस्