अभिनेता पुत्रको शोकले प्राण गुमाएका ताम्राकारको अन्तिम बिदाई



अभिनेता पुत्र सारुक ताम्रकारले आत्महत्या गरेको शोकले विरामी परी उपचारको क्रममा शनिवार यो धर्तिबाट बिदा भएका अभिनेता तथा जादुगर सानु ताम्राकारको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

अन्तिम संस्कारअघि अन्तिम श्रद्धाञ्जलिका लाग उनको शव आर्यघाट परिसरमा राखिएको थियो। जहाँ उनका शुभचिन्तक, कलाकार, फिल्मकर्मी तथा आफन्तहरुले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए। अन्तिम श्रद्धाञ्जलिका क्रममा कतिपय उनको पिडा सम्झेर भक्कानिएका थिए भने सबैजसो भावुक भएका थिए। नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो।

आफ्नो एक मात्र सन्तान सारुकले गत असार २१ गते ज्ञानेश्वरस्थित निवासको भर्याङमा झुन्डिएर आत्महत्या गरेको चोटले चल्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेपछि उनलाई तीन साताअघि अस्पताल भर्ना गरिएको थियो। पुत्रवियोगको पिडाले विरामी परेका उनको परीक्षणका क्रममा मृगौला फेल भएको पाइएको थियो। २८ दिनदेखि नर्भीक अस्पतालको आईसीयुमा उपचारारत ७४ वर्षका सानुको निधनपछि अब श्रीमती रुकमणी एक्लो परेकी छिन्।

गत जेठ २२ गते छायांकन शुरु भएको फिल्म ह्यासट्याग मायामा काम गरिरहेका सारुकले सुटिङ सकेर घर फर्कि एक्कासी आत्महत्या गरेका थिए। फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ, रोयदिप श्रेष्ठलगायतका कलाकार थिए। सारुकले आत्महत्या गरेको दिन सँगै छायांकन गरेपछि नम्रता र उनीबीच विवाद भएको र ठूलो ठूलो स्वरले झगडा गरेको सुनेको फिल्मका निर्माता निर्देशक राजिव गुरुङले खुलाएका छन्।

उनका अनुसार नम्रता फिल्मको सुरुवाती चरणमा क्यारेक्टरमा बस्न सजिलो हुने भन्दै फिल्म निर्माण टिमले लिएको बुढानिलस्थित एक फ्ल्याटमा सारुकसँग बस्दै आएकी थिईन्। पछि रोयदिप पनि थपिएका थिए। निर्माता तथा निर्देशक गुरुङका अनुसार फिल्ममा रोयदिपको प्रवेशपछि भने उनीहरुविच मनमुटाव सुरु भएको र सारुक कहिले बुढानिलकण्ठस्थित फ्ल्याटमा त कहिले ज्ञानेश्वरस्थित घरमा बस्दै आएका थिए। नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका पनि साटिएको थियो। गुरुङले केही अघि नम्रताले सारुकलाई दोलखामा लगेर बोका पूजा गरी कालो बुटी बाँध्न लगाएको पनि खुलाएका छन्।

सारुकको आत्महत्याबारे ठोस अनुसन्धान नगरेको र पुत्रशोककै कारण सानुको निधन भएको भन्दै प्रहरीको आलोचना भईरहेको छ। एक मात्र छोरा सारुक र त्यसपछि पति पनि गुमाउन बाध्य सानुकी पत्नी रुकमणी ताम्राकारले प्रहरीले जसरी पनि सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउनुपर्ने माग गरेकी छन्। त्यस्तै अभिनेता कृष्ण मल्लले सामाजिक सञ्जालमार्पmत प्रहरी मुकदर्शक भएकोमा प्रश्न उठाएका छन्। छोरोको कारणले सानु ताम्रकारको मृत्यु भयो। छोरोले अरुको कारण आत्महत्या गरे। त्यो कारक तत्वमाथि जबसम्म अनुसन्धान हुँदैन, कानुनले जबसम्म तदारुकता देखाउँदैन, तबसम्म न सानु दाइको आत्माले शान्ती पाउँछ न सारुकको आत्माले। खवरदार, सानु दाइको श्रीमतीलाई केहि नहोस, ती कथाकथित अपराधी कहाँ छन् वा कहाँ छिन् किन प्रहरी मुक दर्शक? उनले फेसबुक स्ट्याटस लेख्दै भनेका छन्।

स्व. सानु ताम्राकारलाई कलाकार संघको झन्डा ओढाएर अन्तिम विदाई गरिएको थियो। उनलाई उनका दाजुले दागबत्ती दिएका थिए।

प्रतिक्रिया दिनुहोस्