लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता



काठमाडौं ।

लमजुङमा ६ वर्षको अवधिमा १८ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । लमजुङ स्थायी घर भई जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएका १८ जनाले नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरिकता त्यागेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच-पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले जानकारी दिनु भयो ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरुले नेपाली नागरिकता त्याग गर्ने पाइएको जिप्रकाका सूचना अधिकारी मिश्रको भनाई छ । लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उहाँले बताउनु भयो ।

त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९-०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सुन अधिकारी जगदीश मिश्रले बताउनु भयो ।

अघिल्लो आर्थिक वर्ष २०७८-०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो बाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई वैवाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसै गरी गत आर्थिक वर्ष ०७९-०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्