सचिव र सहसचिवलाई कडाइ, कार्यालय समयमा गोष्ठी र एनजिओको कार्यक्रममा निषेध



काठमाडौं । मुख्य सचिव डा.बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, सेमिनार तथा एनजिओ आइएनजिओको कार्यक्रममा जान निषेध गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बसेको सचिवहरुको बैठकले सचिव सहसचिव लगायतका सबै कर्मचारीहरुले कार्यालय समयको पुर्ण सदुपयोग गर्नुपर्ने र सो समयमा बाह्य काममा जान नपाइने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार अब सचिव सहसचिवहरु कार्यालय समयमा विभिन्न खालका गोष्ठी सेमिनार तथा एनजिओ, आइएनजिओको कार्यक्रममा जान नपाइने गरि निर्णय गरिएको हो । हाल विभिन्न मन्त्रालय र निकायमा सचिव तथा सहसचिवहरु कार्यालय समयमा मन्त्रालयमा भेट्नै मुश्किल हुने गरेको गुनासो आइरहेको थियो । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सो गुनासोको सम्वोधन गरेको बताइएको छ ।

यसैगरि सचिव बैठकले सेवाग्राहीको गुनासो सम्वोधन गर्न र उनीहरुलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै मन्त्रालय र कार्यालयमा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । यसैगरि सचिव बैठकले आगामी २२ भदौमा हुने निजामती दिवसलाई भव्य बनाउने र त्यसका लागि तयारी समिति समेत गठन गरेको छ । यस्तै सचिव बैठकले मन्त्रालयमा रहेका अनावश्यक सफ्टवेयरको व्यवस्थापन गर्ने, इपीजि सञ्चालन निर्देशिकालाई व्यवस्थित बनाउने निर्णय गरेको छ । यसैगरि केन्द्रिय स्तरमा रहेका र खारेजी गर्नुपर्ने निकायको अध्ययन गरि त्यसको अभिलेखीकरण गरि तत्काल खारेजी प्रक्रिया अघि बढाउने निर्णय समेत सचिव बैठकले गरेको छ । यसैगरि सो बैठकले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम मार्फत गरिने अनुगमनलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने, हरेक मन्त्रालय र निकायको कार्यप्रणालीलाई सरल बनाउने निर्णय गरिएको छ ।

स्रोतका अनुसार प्रत्येक महिनाको पहिलो सोमबार बस्ने गरिएको सचिव बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्ने भएपनि ती निर्णयहरु कार्यान्वयनमा भने समस्या देखिदै आएको छ । सचिवहरु आफैले गर्ने निर्णयको कार्यान्वयन आफैले नगर्ने गरेको गुनासो कर्मचारीहरुले नै गर्ने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सचिव बैठकको निर्णय कार्यान्वयनको लागि प्रभावकारी अनुगमन संयन्त्र समेत बनाउन नसकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्