बाढी, पहिरो र आगलागीबाट प्रभावित क्षेत्रमा सेनाको उद्धार कार्य जारी



काठमाडौँ।

बाढी, पहिरो तथा आगलागीबाट प्रभावित विभिन्न स्थानमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरू सम्पादन गरेको सेनाले जनाएको छ ।

मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाजुरा बडिमालिका नगरपालिका– ७ जिल्लीस्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाइ पैदलयात्रीहरूलाई आवतजावत गर्न बाटो सुचारु गरिएको छ ।

यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगाटेस्थित बागमती खोलाको खोचमा फेला परेको शवलाई त्यहाँबाट निकाली प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।

‘यसैगरी, यही भदौ १ गते बैतडीको दशरथचन्द नगरपालिका वडा– ४, शाहीलेकस्थित समृद्धि सुनचाँदी पसल र धनुषको क्षिरेश्वरनाथ नपा– १० हारसरमा रहेको परालको कुन्युमा भएको आगलागीले नजिकैका घरहरूमा समेत क्षति पु¥याउने देखिएकोले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा नियन्त्रण गरिएको छ,’ सेनाले भनेको छ ।

साथै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका– २, रातामाटमा पहिरो गई स्थानीयका घरहरूमा क्षति पुग्ने देखिएकोले पहिरो तथा रुखहरू हटाउने कार्य गरिएको सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्