पनौती नगरपालिकाको पत्र वडा कार्यालयलाई 

 सम्पत्ति कर असुली गर्न ७२ घण्टे अल्टिमेटम 



काभ्रे।

पनौती नगरपालिकाले १२ वडा कार्यालय भुमेडाँडा रोशीलाई सम्पत्ति कर (बेरुजु) असुली गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । २०८० साउन ९ गते नगरपालिका अधिकृत आठौँ पुष्पाकुमारी शर्मा अर्यालले पनौती नगरपालिका वडा नम्बर १२ का सचिव राजेन्द्रप्रसाद सापकोटालाई पत्र लेख्दै वडा अध्यक्ष जयराम केसी (खत्री) लाई बोधार्थ दिएकी छिन् ।

नगरपालिकाले दिएको अल्टिमेटम भित्र पत्रको कार्यान्वयन भएको छैन । यस अघि नगरपालिकाका अधिकृत सातौँ नीराजन मैनालीले २०८० असार २७ गते तीन दिन भित्र सम्पत्ति कर असुली गर्न वडा सचिव सापकोटाका नाममा पत्र लेखेका थिए । दुबै पत्रको कार्यान्वयन २०८० भदौ ३ गते आइतबारसम्म नभएको नगरपालिका राजश्व शाखामा कार्यरत कर्मचारी लक्ष्मण मातक्षेंले जानकारी दिए । ‘सम्पत्ति कर असुलीका सन्दर्भमा नगरपालिकाले तीन दिने र ७२ घण्टे पत्र काटिएको जानकारी भयो’– राजश्व शाखाका कर्मचारी मातन्क्षेले भने–‘आज आइतबारसम्म राजश्व जम्मा गरिएको छैन ।’

पनौती नगरपालिका वडा नम्बर १२ स्थित रोशीमा रहेको उडुवादेवी रोडा ढुङ्गा उद्योग प्रा.लि का नाममा १ सय २७ रोपनी २ आना ३ पैसा ३ दाम जग्गाको मूल्य ८ करोड ६० लाख २ हजार ७ सय ४३ राखिएको छ । उक्त जग्गाको आर्थिक वर्ष २०७५/२०७६ देखि २०७९/२०८० सम्मको सम्पत्ति कर १४ लाख ५४ हजार ७ सय ८४ रुपैयाँ असुली गर्नु पर्नेमा वडा कार्यालयबाट २०८० जेठ २ गते पुनः फाराम भरी २०७९/२०८० को मात्र मूल्याङ्कन गरी ४० हजार मात्रै असुल गरिएको थियो । पुरानो फाराम तथा रेकर्डमा उनको नाममा बाँकी बक्यौता देखिन्छ । नगरपालिकाले पुरानो फाइल नहेरी पुनः फाराम भराए पछि पछिल्लो आर्थिक वर्षको मात्रै असुली गरेको देखिएकाले पत्रको मितिले तीन दिन भित्र उक्त उद्योग जग्गाको पुन मूल्याङ्कन गरी बाँकी रकम असुली गरी दाखिला गर्न निर्देशन दिएको थियो ।

उक्त अवधि भित्र वडा कार्यालयले राजश्व असुलीमा चासो नदिएको भन्दै १४ दिन पछि २०८० साउन ९ गते ७२ घण्टाभित्र रकम असुल गरी दाखिला गर्न निर्देशन दिएको थियो । पत्रमा अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको थियो । उक्त रकमका बारेमा महालेखा परीक्षकको कार्यालयबाट समेत बेरुजु कायम भएको छ ।

स्थानीयहरुले भने उद्योगीलाई फाइदा हुने गरी कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा अघिल्लो आर्थिक वर्षको असुल गर्न बाँकी राजश्व मिनाहा गरी नयाँ फाराम भरी पछिल्लो वर्षको कायम गरेको बताएका छन् । उद्योगलाई गरेको छुटका सन्दर्भमा नगरपालिकामा स्थानीयले उजुरी गरे पछि मात्रै नगरपालिकाले वडा कार्यालयलाई स्पष्टीकरण सहितको पत्र काटेको थियो । तर पनि वडा कार्यालय उक्त रकम अझै दाखिला गरेको छैन । नगरपालिकाले तोकेको तीन दिनको अवधि ३७ दिन पुगिसकेको छ राजश्व असुली भएको छैन । ‘उहाँ आफै राजश्व बुझाउन आउनु भएको थियो । कम्प्युटरमा देखिएन । पुनः फाराम भरेर २०७९/२०८० को मात्रै राजश्व असुली गरिएको हो’–कर्मचारी सरिता लामाले भनिन–‘नगरपालिकाले पत्र काटेपछि उहाँ आफै नगरपालिका पुगेर किस्तामा बुझाउँछु भनेर फर्कनु भएछ । यहाँ आउनु भएको छैन । तर सम्पर्कमा हुनुहुन्छ ।’ कहिलेसम्म राजश्व रकम जम्मा हुन्छ त ? भन्ने प्रश्नमा लामाले भनिन–‘नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भेटेर कुरा गरेको भन्नु भएको छ । कहिले तिर्नु हुन्छ थाहा छैन ।’ उडुवादेवीले आर्थिक वर्षको अन्त्यसम्ममा १७ लाख ६४ हजार ४ सय २ रुपैयाँ बुझाउनु पर्ने नगरपालिकाको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्