१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

पेटमा बच्चा हुर्किएपछि प्रहरीमा किटानी जाहेरी



डोल्पा।

डोल्पामा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवकविरुद्ध ती बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको थियो ।

घटनाको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएका हुन्।

त्यस आधारमा पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनमध्ये एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरिएको हो।

अन्य आरोपित फरार छन्। नभागून् भनेर उनीहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए।

‘पहिला घटनाबारे थाहा भएन। पछि बालिकाको पेटमा बच्चा हुर्कंदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिनुभएको छ।’उनले भने।

प्रतिक्रिया दिनुहोस्