यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय



ओखलढुङ्गा। 

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित  ५० हजार क्षतिपूर्ति र  २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए ।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्