फेसबुकआईडी ह्याक गरी साढे १४ लाख ठगी, ५ जना पक्राउ



काठमाडौँ।

विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । उनीहरु सबैलाई काठमाडौँको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए । यस समूहका सीमान्त लामाले आईडी ह्याक गर्ने गर्थे भने अमन्त लामाले विभिन्न बहानामा रकम माग गर्थे । शुभेच्छा र अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम थियो । रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी उनीहरूले ह्याक गरेका थिए । हालसम्म २२ जना पीडितहरू कार्यालयको सम्पर्क आएको र हालसम्म यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबोर ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्