७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देही मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार, वडानम्बर ५ र ६ का वडासचिव गुलाव यादव, वडा नं ३ का वडाध्यक्ष नारायणबहादुर यादव, समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
प्रवक्ता दाहालका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलेर रकम जम्मा गर्न लगाएर विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं भ्रष्टाचार गरेको भन्ने विषयमा छानबिन गरी आयोगले सो मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो । त्यसमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७÷०७८ मा वडानम्बर ४ मा गरिएका विकास निर्माणका कार्यहरू, गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडानम्बर ६ मा र वडानम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कार्यहरू, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरू भएका थिए ।
वर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताउनुभयो। उहाँका अनुसार प्रमुख प्रशासकीय अधिकृत अर्यालले १३ लाख ४५ हजार रुपियाँ घुस लिएको आयोगले पुष्टि गरेको छ । सो काममा उनीसँगै अन्य व्यक्तिहरूको समेत संलग्नता भएको भन्दै आयोगले ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपियाँ जफत, त्यसअनुसारको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगोबमोजिमको सजाय मागदाबी गरेको छ । वडासचिव गुलावसँग २ लाख रुपियाँ बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन वडाध्यक्ष नारायणबहादुरसँग ५ लाख बिगो कायम गरेको छ ।
प्रोपाइटर विनोदबाबु विरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध ३ लाख ६० हजार र प्रोपाइटर अमरिशविरुद्ध २ लाख बिगो मागदाबी गरेको छ ।
यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाबाट ५ लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।
गाउँपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई आयोगको टोलीले पक्राउ गरेको हो ।
वीरेन्द्रकुमार २ लाख रुपियाँ नगदसहित र लेखनापाल टेकनारायण घुसबापत लिएको ३ लाख रुपियाँको चेकसहित पक्राउ परेका हुन् । सोलार बत्ती जडानलगायतको योजनाको भुक्तानीबापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ गरी अनुसन्धानको कार्य अघि बढाएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । सेवाग्राहीसंघ घुस माग गरेको उजुरीका आधारमा अख्तियारको टोली सक्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्