सल्यानमा अटो दुर्घटना हुँदा एकको  मृत्यु, २ जना  घाइते



 सल्यान। 

सल्यानमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–५ लामिखोलास्थित भित्री कच्ची सडक खण्डमा रा १ ह ३९३० नम्बरको अटो आज साढे ४ बजेतिर दुर्घटना हुँदा छत्रेस्वरी गाउँपालिका–४ आकाशे बस्ने वर्ष ५१ की ठगी कामीको मृत्यु भएको हो ।

 त्रिवेणी गाउँपालिकाको लुहाम बजारबाट वडा नं. ५ को ढोडचौर जाँदै गरेको अटो दुर्घटना हुँदा ठगीको घटनास्थलमै मृत्यु भएको र घाइते भएका दुई जनालाई उपचारका लागि त्रिवेणी गाउँपालिकाको लुहाम लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए । उकालो चढ्न नसकी ब्याक भएर अटो दुर्घटनामा परेको उनले जनाए । उनका अनुसार अटोमा चार जना सवार थिए । अटो सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । अटो चालक त्रिवेणी गाउँपालिका–५ लामिखोला बस्ने वर्ष २८ का रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यसैबिच बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ काभ्राको सल्लेरी सामुदायिक वनमा आज पुरुषको शव भेटिएको हो ।शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार शव गल्न थालिसकेको अवस्थाको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामको टोली गएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्