भारतीय दूताबासले मनायो ७७ औं स्वतन्त्रता दिवस



काठमाडौँ।

काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनायो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै शुरु भएको समारोहमा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको भिडियोमा सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरेकी थिइन् । उनले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको जिकीर गर्दै विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे पनि उल्लेख गरिन् ।

समारोहमा दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रुपियाँ वितरण गरी सम्मान गरिएको थियो ।

यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्