झापा कारागारको बेथितिको पर्दाफास



भद्रपुर। 

 झापा कारागार भित्र हुने बेथिति सार्वजनिक भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर भएको आगजनीपछि भित्र हुने गरेको क्रियाकलापहरु बाहिर आएको हो ।

बेथितिका कारण कारागारबाट छुटेका व्यक्ति ४० प्रतिशत मानसिक रोगी भएर घर फर्किनु परेको पीडा कारागारबाट छुटेका  कैदीबन्दीले सुनाए ।
घट्ना विवरण अनुसार कारागार भित्र छिर्ने बित्तिकै शारीरिक तथा मानसिक यातना भोग्नु परेकोे उनीहरूको भनाइ छ । नियम र निर्देशन एक प्रतिशत मात्रै अवज्ञा गरेमा बेहोस हुने गरी कुट्छन् भने कोही कुटाइ थेग्न नसकेर थला परेको घटना पनि हुने गरेको छ  ।

चौकीदार, भाइ चौकीदार, नाइके र सह नाइके मध्येका केहीले भित्र राज जमाउने गरेको छुटेका व्यक्तिहरुको भनाइ छ  । त्यतिमात्र नभई गोदाम भित्र हत्कडी लगाएर पिट्ने , नाङ्गै पिट्दै वाडभरी घुमाउने गर्छन् । भित्र क्लब,जिम हाउस , बन्दी पुस्तकालय र सरसफाइमा अनिवार्य ५ हजार रुपैयाँसम्म रकम बुझाउनु पर्ने नियम छ । उनीहरुले सञ्चालन गरेको क्यान्टिनबाट नै सामान खरिद गर्नुपर्ने । वाहिरको भन्दा तेब्बर मूल्य तिर्नु पर्ने । सरकारी भात खान नसक्ने हुन्छ ।  पैसावालाहरूले गोदाम भित्र जुवा तास समेत खेल्ने गरेका छन्  । गाई, गोरु, हरिण, बँदेल लगायतको मासु पाइन्छ भने लागूऔषध, मादक पदार्थ, सुर्तीजन्य पदार्थ समेत उपलब्ध  छ । त्यसैगरी  त्यहाँ  करोडौको व्यापार हुने गरेको उनीहरूको भनाइ छ । आन्तरिक व्यापारलाइ असर पुर्‍याउन नपाइने भएकोले कारागार भित्र जसको समूह बढी हुन्छ त्यही समूहले राज जमाउने  उनीहरूको बुझाइ छ ।

चौकीदारले मासिक ८ लाख रुपैयाँसम्म कमाउने गरेको उनीहरूको दाबी छ । कमाएको रकम भित्र चौकीदारलाइ जोगाएर राख्ने समूह , चौकीदारले निर्माण गरेको सैनिक जत्था(मान्छे कुटने समूह) लगायत बाहिरी पक्षबाट आन्तरिक प्रशासनलाई सघाउनेलाई वितरण गरिँदै आएको उनीहरुले सुनाए । कारागार भित्रको सिण्डीकेट तोड्न जरुरी छ  । आन्तरिक प्रशासनको तर्फबाट भित्री गेटमा लगाउँदै आएको साँचो हटाउनु पर्ने , क्यान्टिन र चेकजाँच स्थलमा क्यामेरा जडान गरिनु पर्ने , आन्तरिक प्रशासन कारागार प्रशासनको अधिनमा हुनु पर्ने , विदेशी र बन्दीलाई भित्रको जिम्मेवारी दिन नहुने, कैदी तथा बन्दीलाई दिँदै आइरहेको यातना बन्द गरिनु पर्ने लगायतको कारागार प्रशासनलाई सुझाव छ ।

त्यसैगरी कैदीबन्दीको श्रम शोषण चरम रुपमा भएको हुँदा  हटाइनु पर्ने उनीहरूको सुझाव छ । केही दिन अघि भएको कारागार भित्रको आगजनी चौकीदार लय सिवाकोटीलाई सरुवा गराएर मनोज लावतीको समूहलाई चौकीदार बनाउन गरिएको योजना भएको उनीहरूको बुझाइ छ । कारागार सुधार गृह नभएर साधारण मान्छेलाइ मानसिक रोगी बनाउने  ठाउँ भएको उनीहरूको दाबी छ ।

कारागार भित्र लागूऔषध सेवन हुने विषयको उजुरी अख्तियारमा परेपछि कारागार विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डे र झापा कारागारका तत्कालीन जेलर तथा कारागार व्यवस्था विभागका शाखा अधिकृत राजेन्द्र गौतमको टोलीले  केही महिना अघि कारागार भित्र छानबिन गरेको थियो । छानबिनका क्रममा लावतीसहितका केही कैदीबन्दीलाइ  सरुवा गर्ने विभागबाट पत्र आएको थियो ।

आर्थिक वर्ष ०८०/८१ का लागि असार मसान्तमा लावतीलाई चौकीदारका लागि सिफारिस गरिएको थियो । तर, कारागार व्यवस्था विभागले नयाँ मापदण्ड अनुसार सिफारिस गर्न साउन १० मा अर्को परिपत्र गरेको थियो । परिपत्रमा त्यसअघिको सिफारिस स्वतः खारेज भएको समेत बुझिएको छ । मापदण्डमा नपर्ने भएपछि लावतीलाई झुम्का पठाएर नयाँ चौकीदार सिफारिस गर्ने तयारी गर्दै गर्दा कारागारमा समस्या उत्पन्न भएको थियो ।

कारागारमा भएको आगजनीबाट नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सिसी टिभीमा क्षति पुगेको कारागार प्रशासनले जनाएको छ ।

चौकीदारले एकमुष्ट पैसा बुझेर भित्र मेस चलाउने गरेको झापा जिल्ला कारागार प्रमुख(जेलर) मोहनलाल पनेरुले बताए  । कानुनले निषेध गरिएका क्रियाकलापहरु भित्र नभएको उनले दाबी गरे । भित्रबाट विभागमा गुनासा पुगेपछि गरिएको छानबिनमा भनेजस्तो नदेखिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्