हुम्लाबाट हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार



हुम्ला ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत एक जना सुत्केरी महिलाको हुम्लाको सदरमुकाम सिमकोटबाट उद्धार गरिएको छ । हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

साउन १६ गते सुत्केरी भएकी ४० वर्षीया सार्कीको रगतमा संक्रमण भएर रिफर गरेको पाँच दिनपछि उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाको सिनियर अनमी सरीता बोहराले बताइन् । जिल्लामा केही दिन यतादेखि मौसम खराब हुनुका साथै लगातार पानी परेका कारण हवाई उडान हुन नसक्दा रिफर गरेको पाँच दिनपछि सार्कीलाई सेनाको हेलिकोप्टरबाट आज उद्धार हुन सकेको अनमी बोहराले बताए  ।

थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जानुपर्ने भएपनि विमानस्थल खराब मौसमका कारण सार्कीलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो । सार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेतमा रहेको प्रादेशिक अस्पताल पु¥याएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाजको उडान नहुँदा हुम्लामा बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नागरिक उड्डयन प्राधिकरणको नियमका कारण लामो समयदेखि हवाई उडान हुन सकेको छैन् । सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा चार बालबालिकाले उपचार नपाएरै ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्