घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु



हेटौंडा।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३, चित्रेघारीमा भिरबाट लडेर फेरि एक जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर स्थानीय ५३ वर्षीय बिनोदकुमार बम्जनको मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घरनजिक जंगलमा घाँस काट्न गएकोमा घाँस काट्ने क्रममा अचानक भिरबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि आफन्तहरुले मनमोहन हस्पिटल फर्पिङ लैजाइदै गर्दा बाटोमा मृत्यु भएको हो ।

केही समयअघि इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२, डाँडाघर बस्ने ५३ वर्षका तीर्थ लामा स्थानीय छिमेकीको घरमा बिहेमा गइ घरतर्फ फिर्ता हुने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । लामाको भिरबाट करिब ४० मिटर तल खस्दा मृत्यु भएको हो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर–२, देउरालीमा पनि माघ १५ गते भिरबाट लडेर एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय माइला थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अपराह्न साढे ४ बजे बिहेमा गइ घर फर्किने क्रममा भिरबाट लडेर थिङको मृत्यु भएको हो । मकवानपुरका डाँडाकाँडा भएका क्षेत्रमा राति बत्ती नबोकी हिंड्ने , साँघुरा गोरेटो बाटो र मादकपदार्थ सेवन गरेर हिंड्ने हुँदा भिरबाट लडेर मृत्यु हुनेको सख्या बढ्न थालेको प्रहरीले जनाएको छ ।

मकवानपुरका पहाडी र भिरालो क्षेत्रमा घाँस काट्न, दाउरा खोज्न जाने क्रममा मृत्यु हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्